आइतबार दिउँसो भारतीय क्लब दिल्ली डेयरडेभिल्सले ट्वीटरमा लेख्यो-भिभो आइपिएलको इतिहासमा पहिलो नेपाली खेलाडी। सत्र वर्षीय लेग स्पिनर सन्दीप लामिछानेलाई हाम्रो टिममा स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको छ।
सन्दीपको आइपिएल यात्राले खुसी नेपालमा पनि छाएको छ। बैंगलुरुमा भएको अक्सनमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारूमा किनेको हो। यो अक्सनसँगै सन्दीपले अप्रिल-मेमा हुने आइपिएल खेलेवापत् ३२ लाख नेपाली रुपैयाँ पारिश्रमिक पाउने छन्। आइपिएलमा उनीले झन्डै दुई महिना बिताउनेछन्।
नेपाली राष्ट्रिय टिमबाट खेलेवापत् सन्दीपले अहिले मासिक २५ हजार (वार्षिक ३ लाख) पारिश्रमिक पाउथें।
नेपाली क्रिकेटका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामा करारमा खेल्ने सन्दीपले मासिक २५ हजार पाउने गरेको बताए। राष्ट्रिय खेलाडीको वर्गीकरणमा उनी ख श्रेणीमा थिए। क श्रेणीका खेलाडीले मासिक ३५ हजार रुपैयाँ पाउँछन्।
लामो समय क्यानको खाता रोक्का भएपछि नेपाली खेलाडीले पारिश्रमिक पाएका थिएनन्। आइसिसीले केही साताअघि नेपाली खेलाडीको १५ महिनाको तलब एकचोटी दिएको थियो।
नेपाल क्रिकेट संघकी पूर्वसिइओ भावना घिमिरेले यसलाई एतिहासिक क्षण बताएकी छन्।
सेतोपाटीसँग कुरा गर्दै घिमिरेले सन्दीप आइपिएल (इन्डियन प्रिमियर लिग) अक्सनमा बिक्री हुनु नेपाली क्रिकेट खेलाडीको भविष्य उज्यालोतिर अघि बढेको संकेत भएको बताइन्।
‘नेपाली क्रिकेटको इतिहासमा कोसेढुङ्गा सावित भएको छ। सन्दीपको लागि मात्र नभएर व्यावसायिक क्रिकेट खेलाडीको लागि प्रेरणा बनेको छ,’ घिमिरेले भनिन्, ‘अब नेपालको क्रिकेट अगाडि बढ्यो।’
उनले सन्दीपमाथि चुनौती थपिएको भन्दै आगामी दिनमा यसलाई ख्याल गरेर खेले उनको भविष्य निकै उज्ववल भएको बताइन्।
‘अन्य खेलाडी जस्तो वाताबरणमा हुर्किए, सन्दीप पनि त्यस्तै वाताबरणमा। तर यो अवसरले सन्दीपमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ। यसलाई ख्याल गरेर उनी अगाडि बढ्नुपर्छ,’ घिमिरेले भनिन्।
नेपाली टिमका कप्तान पारस खड्का सन्दीपले नेपाली क्रिकेट खेलाडी हुनुमा गौरवान्वित बनाएको बताए। उनले ट्वीटरमा भनेका छन्- सबै नेपाली, क्रिकेट खेलाडी र क्रिकेटका प्रशंसक र क्रिकेटसँग जोडिएका सबैलाई बधाई! नेपाली क्रिकेट खेलाडी भएकोमा गौरवान्वित भएको क्षण। गज्जब सन्दीप!
तीन वर्षअघि युथ–१९ विश्वकप छनोटका लागि काठमाडौंको यात्रा तय गर्दा सन्दीप १४ वर्षका थिए। स्याङ्जाका आरुचौर तालपोखरीमा जन्मेका जन्मिएका सन्दीपको परिवार केही समयअघि मात्रै चितवन सौराहा बसाइँ सरेको थियो। उनी नवलपरासी रहजरमा दिदीभिनाजूको घरमा बसेर पढ्थे। चितवन क्रिकेट एकेडेमीमा तालिम गर्थे।
उनका बुवा चन्द्रनारायण भारतको हरियाणामा रेल्वेमा जागिरे छन्। सन्दीपले चार कक्षासम्म बुवासँगै बसेर पढे । सानैदेखि उनी क्रिकेटमा झ्यामिन्थे। स्याङ्जाबाट चितवन सरेको केही दिनमै उनी चितवन क्रिकेट एकेडेमीमा भर्ना भए।
राष्ट्रिय टिमका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले चितवन पुगेका बेला सन्दीपको प्रदर्शन देखेका थिए।
सन्दीपको बलिङबाट प्रभावित पुबुदले उनलाई काठमाडौं बोलाए।
सन् २०१६ को युथ विश्वकपका लागि मलेसियामा आयोजना हुने छनोट प्रतियोगिताका लागि काठमाडौंमा क्लोज क्याम्प जारी थियो। उनी यसैका लागि काठमाडौं आएका थिए। करिब एक महिना लामो अभ्यासका क्रममा उनले टिममा पर्न निकै मेहनत गरे। आफ्नो लेग ब्रेक स्पिनको जादू सबैलाई देखाए।
तर, युवा टोलीको समिकरण तयार गर्दा उनी टिममा अटाउन सकेनन्। देब्रे हाते स्पिनरको विकल्पको रुपमा ललित राजवंशी टिममा छनोट भए। सन्दीपले विश्व कप खेल्ने सपना हापे।
तर नेपाली उखान छ नि, भाग्यमा भए दुध डोकामा पनि अडिन्छ रे! यो उखान धेरै अर्थमा सन्दीपको कहानीसँग मेल खान्छ।
मलेसियामा नेपाल विश्वकपका लागि छनोट भयो र तयारीका लागि टिम पुनः काठमाडौं फर्किने भयो। सन्दीप छनोट टोलीमा अटाउन नसके पनि १८ सदस्यीय युथ टोलीमा समावेश थिए। त्यसैले विश्वकपको तयारीका लागि पुनः क्लोज क्याम्प राख्नु पर्दा उनलाई पनि समावेश गरियो।
यतिबेला पुनः पाएको मौका खेर फ्याँक्ने पक्षमा थिएनन्, सन्दीप। डेढ महिना लामो क्लोज क्याम्पको क्रममा उनले आफ्नो बलिङको ‘भेरिएसन’ ले मात्र होइन, ‘सटिक लाइन–लेन्थ’ मा बल फ्याँकेर प्रशिक्षकलगायत कोचिङ स्टाफलाई चकित तुल्याए।
एक महिनाभित्र उनको बलिङमा आएको सुधार वास्तवमै लोभलाग्दो थियो। उनले लेग स्पिनरले गर्न सक्ने तीन खाले बलिङ (लेकब्रेक, गुगली र फ्लिपर) गरे।
विश्वकप क्रिकेट बंगलादेशमा आयोजना हुँदै थियो।
उनको बलिङमा आएको सुधार र बंगलादेशमा स्पिनलाई मद्दत गर्ने पीचको पूर्वानुमान गरेका प्रशिक्षक जगत टमाटाले यतिबेला कुनै गल्ती गरेनन्। उनी सन्दीपलाई प्लेइङ सेटमा राखेर बंगलादेशतर्फ उडे।
बंगलादेशमा नेपालको प्रदर्शन उत्कृष्ट रहयो। विश्वका १० टेस्ट राष्ट्रका बीच नेपाल सुपर लिगमा प्रवेश गर्यो। नेपाललाई सुपर लिगमा प्रवेश गराउन सन्दीपको भूमिका प्रमुख बन्यो। यद्यपी नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै क्वाटरफाइनलभन्दा माथि उक्लिन सकेन्।
तर, १५ वर्षीय सन्दीपले युथ विश्वकपमा १५ विकेट लिँदै क्रिकेटका हस्ती राष्ट्रलाई पनि अचम्मित पारे। उनी २०१६ को युवा विश्व कपमा सर्वाधिक विकेट लिने सूचीमा दोस्रो नम्बरमा थिए। उनको त्कृष्ट खेलका कारण नन–टेस्ट राष्ट्र हुँदाहुँदै पनि नेपाल युथ वरियतामा आठौं स्थानमा उक्लिएको थियो।
युथ विश्वकपमा उनको त्यही प्रदर्शनको आधारमा हङकङले उनलाई आफ्नो देशमा क्लब क्रिकेट खेल्न निम्तो दियो। जुन निम्तोलाई स्वीकारेर गत वर्ष कोलुन कान्टुन्सबाट टी–२० क्रिकेट खेलेका सन्दीपको हङकङमै अस्ट्रेलियाका पूर्वटेस्ट कप्तान माइकल क्लार्कसँग भेट भयो। क्लार्क पनि सक्रिय क्रिकेटबाट सन्यास लिएपछि हङकङको यही प्रतियोगितामा सहभागी हुन पुगेका थिए।
हङकङमा क्लार्कसँग जुरेको यही भेट सन्दीपको खेल जीवनलाई सुखद मोडतर्फ डोर्याउन पर्याप्त बन्यो। उनको बलिङबाट प्रभावित क्लार्कले २०१६ को सेप्टेम्बरमा सन्दीपलाई अस्ट्रेलियाको सिड्नीमा रहेको आफ्नो क्लब वेस्टर्न सबर्बर्स डिस्ट्रिक क्लबबाट खेल्न निम्तो पठाए। यसपछि सन्दीपको चर्चा विश्वव्यापी बन्न पुग्यो। उनलाई विदेशी मिडियाले विश्वको प्रभावशाली युवा खेलाडीको पंक्तिमा राखे।
सन्दीप आइपिएलमा बिक्री भएपछि क्लार्कले यसलाई राम्रो समचार भएको बताएका छन्।
सन्दीपको आइपिएल यात्रामा पनि क्लार्क उनका प्रसंशक हुनुको हात हुन सक्छ।
माइकल क्लार्कभन्दाअघिका अष्ट्रेलियाका कप्तान रिकी पोन्टिङ अहिले दिल्ली डेयरडेभिल्सका प्रशिक्षक छन्। आफ्ना उपकप्तान क्लार्ककै सिफारिशमा पोन्टिङले सन्दीपलाई किन्ने निर्णय गरेका हुन सक्छन्।
क्लार्कसँग अभ्यास गरेर फर्किएपछि उनको खेलमा अझ बढी परिपक्वता आएको राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा बताउँछन्। उनलाई गत वर्ष नामिबियाविरुद्ध काठमाडौमा आयोजना भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा राष्ट्रिय टोलीमा स्थान दिइएको थियो।
‘उसमा बलिङको प्रतिभा त छदैछ। यसबाहेक पनि ऊ सबैभन्दा छिटो ब्याट्सम्यानको खेल्ने शैलीलाई पढ्न सक्छ। जसले गर्दा ऊ प्रभावशाली ढंगले बलिङ गर्छ,’ प्रशिक्षक टमाटा भन्छन्।
यो पनि हेर्नुहोस्:
नेपालमा छनोट प्रतियोगितामा समावेश नभई युथ–१९ विश्व कप खेल्ने सौभाग्य कुनै खेलाडीलाई प्राप्त छैन्। यसमा सन्दीप अपवाद हुन्, जो विश्व कप खेलेर छनोट खेल खेले।
सिङ्गापुरमा एसिसी युथ–१९ विश्व कप छनोटमा उनी नेपाली टोलीको कप्तान थिए। उनले प्रतियोगितामा नेपाली युवा क्रिकेटमा नयाँ र अनौठौ कीर्तिमान बनाए।
मलेसियाविरुद्ध ७ विकेट लिएका सन्दीप एउटै प्रतियोगिताको ३ वटा इनिङमा ५ वा ५ भन्दा बढि विकेट लिने पहिलो नेपाली बलर बनेका थिए।
यू–१९ विश्वकपमा सन्दीपको प्रदर्शनलाई स्वदेशीमात्र होइन विदेशी मिडियाले समेत प्रशंसा गरेका थिए। त्यो प्रतियोगितामा लामिछानेसहित तीन जना स्पिनरले चर्चा पाए। त्यसमा भारतका बाँया हाते चाइना म्यान बलर कुलदीप यादवले टेस्ट टिमबाट खेलिसकेका छन् भने अफगानिस्तानका रसिद खान टी–२० लिगहरूमा स्थापित भइसकेका छन्। खानलाई यसपालि ९ करोड भारुमा सनराइजर्स हैदरावादले किनेको छ।
यु–१९ प्रतियोगितामा पाकिस्तानसँगको खेलको एक ओभरमा उनले ६ बल फरक फरक किसिमले फाले। पाकिस्तानी ब्याट्सम्यानले सन्दीपको बलमा कसरी खेल्ने मेसो पाउन सकेनन्। त्यो बलिङको भिडियो सोसल मिडियामा भाइरल बन्यो। सो भिडियो राख्दै बीबीसीले भनेको थियो– के उनी नेपालका शेन वार्न हुन्?
बिबिसीले यो प्रश्न सोधेको ठ्याक्कै दुई वर्षपछि सन्दीपले आफ्नो क्षमता फेरि विश्वसामू देखाउने ठूलो अवसर पाएका छन्।
विश्वका सबै उत्कृष्ट क्रिकेटरले खेल्न चाहने लिगको हिस्सेदार बन्न पाउनु सन्दीपका लागि ठूलो उपलब्धी हो। सन् २०१६मा पाकिस्तानविरुद्दजस्तै यो प्रतियोगितमा पनि सन्दीपले बलिङ गर्नसके भने आइपिएलमा उनले नयाँ उडान भर्ने छन्।
यो पनि हेर्नुहोस्https://www.youtube.com/watch?v=a98nqmBZUtg