आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ।
सुरूमै विकेट गुमाएको नेपालले १२औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको थियो। यस्तै १३औं ओभरको चौथो बलमा आरिफ शेख शून्य रनमा आउट भए।
यसअघि ३५ बल खेलेका खड्काले १९ रन बनाएका थिए। विलियम्सको बलबाट आउट हुनअघि उनले २ चौका प्रहार गरेका थिए।
यसअघि दोस्रो ओभरको पहिलो बलमा ओपनर दिलिप नाथ आउट भए। उनले सामना गरेको पहिलो बलमै आउट भएका हुन्।
यसअघि नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर नामिबियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरको खेलमा नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो।
नामिबियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिएका थिए।
सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले समान १-१ विकेट लिएका थिए।