क्यानडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपूर्ण जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन–२ को राउन्ड रोबिनको पाँचौं तथा अन्तिम चरणको नेपाल र क्यानडाबीच बुधबारको खेलमा विजयी हुने टोली मात्र विश्वकप छनोटमा पुग्ने स्थिति थियो ।
नेपाल सर्वाधिक ८ अंक बोक्दै विश्वकप छनोटमा पुगेको हो । यूएई, नामिबिया र क्यानडाको समान ६ अंक भए पनि राम्रो रन रेटका आधारमा यूएई छनोट हुन सफल भएको छ। नेपाल र यूएईले बिहीबार फाइनल खेल्नेछन्।
मार्च ६ देखि २५ सम्म जिम्बाबेमा २०१९ को आईसीसी एकदिवसीय बिश्वकपको लागि छनोट प्रतियोगिता आयोजना हुनेछ जसमा नेपाल र युएई सहित १० टोली सहभागी हुनेछन्।
प्रतियोगिताको उत्कृष्ट २ हुने टिम इंग्ल्याण्ड र वेल्समा सन् २०१९ मा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न छानिने छन्। डिभिजन-२ को विजेता घोषणा गर्न बिहिबार नेपाल र युएई बीच फाइनल खेल हुँदैछ।
विजेताले छनोट चरणको समूह एमा वेष्टइन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवान्यूगिनीसँग खेल्नुपर्ने छ भने उप विजेताले अफगानिस्तान, जिम्बाम्बे, स्कटल्याण्ड र हङकङसँग खेल्नुपर्नेछ।
१० वटा टिमलाई २ समूहमा बिभाजन गरीएको छ। समूह चरणमा सबै टिमले एकअर्कासँग १-१ खेल खेल्नेछन्। त्यसपछि दुवै समूहबाट उत्कृष्ट-३ भित्र पर्ने टोली सुपर-सिक्स चरण खेल्न छनोट हुनेछन्।
सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्नुपर्ने छ (समुह चरणमा भेट नभएका टिमसँग मात्र)। समूह चरणमा पाएको अंकसमेत सुपर सिक्स चरणमा जोडिनेछ (समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसँगको अंक बाहेक)।
सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृष्ट २ हुने टिम विश्वकप २०१९ खेल्न छनोट हुनेछ।