लेग स्पिनर राशिद खानको अलराउण्ड प्रदर्शनले जिम्बाम्बेसँगको अन्तिम एक दिवसीय खेलमा अफगानिस्तानले सानदार जित दर्ता गर्दै सिरिज ४-१ले आफ्नो पक्षमा पारेको छ।
सोमबार शारजहामा भएको अन्तिम एक दिवसीयमा अफगानिस्तानले जिम्बाम्बेलाई १४६ रनले हरायो।
टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ९ विकेट गुमाएर २४१ रन बनाएको थियो।
जवाफी ब्याटिङ गरेको जिम्बाम्बे अफागानी बलरसामू निरिह साबित हुँदै ३२ ओभर खेल्दै ९५ रनमा समेटियो।
२४२ रनको जवाफी ब्याटिङ थालेको जिम्बाम्बेले खराब सुरूवात गर्दै ७ रनमै पिहलो विकेट गुमाएको थियो। हामिल्टन मसाकाड्ज़ा ७ रन बनाएर आउट भएका थिए। यसको केही बेरमा दोस्रो ओपनर मूसाकाण्डा शापूर झादरानको बलमा आउट भए।
दुबै ओपनर आउट भएपछि ब्रैण्डन टेलर र क्रेग इरविनले अनुभवी ब्याटिङ गर्दै ५० रनको साझेदारी गरे। तर टिमको स्कोर ७२ रन पुगेको बेला अशरफले टेलरलाई एलबीडबल्यूको धरापमा पारेपछि जिम्बाम्बे संकटमा आयो। टेलरले ३८ बलमा २७ रन बनाएर आउट भए।
तर टिमको स्कोर ७२ रन पुगेपछि जिम्बाम्बेले लगातार विकेट गुमायो। बाँकी २३ रन बनाउँदै पुरै टिम अल आउट भयो।
जिम्बाम्बेलाई सस्तैमा समेट्ने क्रममा राशिद खानले कप्तान क्रीमरसहित ३ विकेट लिए। अशरफ र मोहम्मद नाबीले २-२ विकेट लिँदा मुजीबुर रहमान र शापूर जादरानले १-१ विकेट लिएका थिए।
यसअघि अफगानिस्तानका लागि जावेद अहमदी र रहमत शाहले अर्धसतकीय पारी खेल्दै शानदार शुरूआत गरेका थिए। यी दुई बाहेक राशिद खानले २९ बलमा ४३ रन बनाएपछि टिमको स्कोर सम्मानजनक पुगेको थियो।
अफगानिस्तान र जिम्बाम्वेले खेलेका २ टि ट्वान्टी र ५ वानडेमा एक खेल मात्र जिम्बाम्बेले जित्यो भने बाँकी सबै खेलमा अफगानिस्तान हाबी भयो।
आगामी महिना सुरू हुने सन् २०१९ को विश्वकप छनोटमा यी दुई टिम एकै समूहमा परेका छन्।