हङकङलाई हराउँदै स्कटल्याण्ड क्रिकेट वर्ल्डकप क्वालिफायरमा लगातार दोस्रो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
समूह बी मा रहेको स्कटल्याण्डले हङकङलाई मंगलबार ४ विकेटले हराउँदै ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको हो। यसअघि स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।
बुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरको खेलमा ३८.२ ओभरमा अलआउट हुँदै ९१ रन बनाएको थियो।
हङकङका लागि निजाकात खानले २६ तथा अइजाज खानले १७ रन बनाए भने एहसान खान १६ रनमा नटआउट रहे। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। हङकङलाई ३८.२ ओभरमा अलआउट गर्न स्कटल्याण्डका टम सोलेले ४ तथा एलासदायर इभान्सले ३ विकेट लिए।
जवाफमा स्कटल्याण्डले २३.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। स्कटल्याण्डको जितमा कप्तान केल कोत्जरले नटआउट रहदै सर्वाधिक ४१ रन बनाए। यस्तै जर्ज मुनसले २२ रनको योगदान गरे।
बलिङमा हङकङका एहसान खानले ३ तथा एहसान नवाजले २ विकेट लिए।
आजको खेलपछि लगातार दुई जितेको स्कटल्याण्ड समूह बी को शीर्ष स्थानमा छ। यस्तै पहिलो खेलमा जित हात पारेको जिम्बाम्बे २ अंकसहित दोस्रो तथा नेपाल, हङकङ र अफगानिस्तान अंकविहिन छन्।
आजै अफगानिस्तानले घरेलु टोली जिम्बावेसँग खेलिरहेको छ। यो खेलमा अफगानिस्तानलाई हराउन सकेन जिम्बाम्बे समूहको शीर्ष स्थानमा उक्लिने छ।
अब स्कटल्याण्डले तेस्रो खेलमा बिहीबार नेपालसँग खेल्नेछ।