आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह 'बी' को खेलमा जिम्बावेले अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ।
रोमाञ्चक खेलमा जिम्बावेसँग २ रनले पराजित भएसँगै अफगानिस्तानले विश्वकप छनोटमा लगातार दोस्रो पराजय भोगेको छ। आइतबार भएको पहिलो खेलमा अफगानिस्तान स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो।
घरेलु टोली जिम्बावे मंगलबार दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३ बल बाँकी छदा १ सय ९४ रनमा अलआउट भयो।
कुनै समय १ सय ६४ रन बनाउँदा ४ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि लगातार विकेट गुमाएको थियो। ३७ ओभरमा सिकन्दर राजाले ३ विकेट लिएपछि खेल जिम्बावेको पक्षमा फर्किएको थियो।
३० रन चाहिएको अवस्थामा नवौं विकेटका लागि सैपुर जार्डान र दाउलात जार्डानले २७ रनको साझेदारी गर्न सके।
अन्तिम १२ बलमा जितका लागि ७ रन आवश्यक भएका बेला यस जोडीले अफगानिस्तानका लागि ५ रनमात्रै जोड्न सक्यो। अन्तिम ३ बल बाँकी छदा अफगानस्तानलार्इ जितका लागि २ रन आवश्यकता थियो। सोही बेला ब्रेयन भिटोरीले सापुर जर्दानलार्इ आउट पार्दै अफगानिस्तानलार्इ निराश बनाए।
त्यसअघि अफगानिस्तानका लागि राहमत साहले ६९ रन र मोहमद नाबीले ५१ रन बटुले। बलिङतर्फ मुजारबानीले ४ विकेट लिँदा सिकन्दर राजाले ३ विकेट हात पारे।
त्यसअघि जिम्बावे ४३ ओभरमा १ सय ९६ रनमा अलआउट भयो। ब्रेन्डन टेलले ८९ र सिकन्दर राजाले ६० रन जोडे।
बलिङतर्फ अफगानिस्तानका रासिद खान र मुजिव उर रहमानले ३–३ विकेट लिए।
नेपाल सम्मिलित समूह बीको मंगलबारै भएको खेलमा स्कटल्यान्डले हङकङलाई ४ विकेटले हरायो। योसँगै स्कटल्यान्ड र जिम्बावेले २–२ खेलमा जित हात पारे। अफगानिस्तान दुवै खेलमा पराजित हुँदा नेपाल र हङकङ १–१ खेलमा पराजित भए।
अंकतालिकामा स्कटल्याण्डसँगै समान ४ अंक भए पनि रनरेटका आधारमा जिम्बावे दोस्रो स्थानमा छ।
समूह बी मा दुबै खेल हारे पनि रनरेटका आधारमा अफगानिस्तान तेस्रो, एउटा मात्रै खेल खेलेको हङकङ चौथो र नेपाल पुछारमा छ।
अंकतालिकाको पुछारमा भएका कारण सुपर सिक्समा स्थान बनाउन नेपालले बिहीबार शीर्ष स्थानमा रहेको स्कटल्याण्डविरुद्ध जित निकाल्नुपर्ने दबाव बढेको छ। यदि स्कटल्याण्डसँग पराजित भएमा र अफगानिस्तानले बाँकी रहेका खेलमा नेपाल र हङकङलार्इ पराजित गरेमा सुपरसिक्समा पुग्ने नेपालको सम्भावना सकिनेछ।
अाइसीसीको प्रावधानअनुसार ५ टोली सहभागी समूहका शीर्ष तीन टोली सुपरसिक्समा पुग्नेछन्। सुपरसिक्समा एकअर्काको टोलीसँग खेल्दै शीर्ष दुर्इ स्थान हासिल गर्ने टोलीले २०१९ को विश्वकपमा स्थान बनाउनेछ।
नेपालले पहिलो खेलमा आइतबार टेस्ट राष्ट्र जिम्बावेको सामना गरेको थियो। पहिलो पटक टेस्टमान्यता राष्ट्रसँग एकदिवसीय खेलेको नेपाल १ सय १६ रनले पराजित भयो। जिम्बावेले दिएको ३ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ सय ६४ रनमा समेटिएको थियो। पहिलो खेलको फराकिलो हारपछि दोस्रो चरण(सुपरसिक्स)मा पुग्न नेपाललाई स्कटल्याण्डविरुद्ध जित्नैपर्ने दबाव आएको हो।
प्रतियोगितामा नेपालको लक्ष्य सुपरसिक्समा पुग्दै एकदिवसीय मान्यता पाउनु रहेको छ। सुपरसिक्समा पुग्नका लागि नेपालले बिहीबार हुने स्कटल्याण्ड सहित अफगानिस्तान र हङकङसँग हुने बाँकी तीन खेलमध्ये दुर्इमा जित हात पार्नुपर्नेछ।