आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपाल खराब प्रदर्शन गरिरहेको छ।
कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेर आउट भए पछि नेपाल थप संकटमा परेको हो।
पारस ६३ रन बनाएर क्याच आउट भए। उनले ७५ बलमा ९ चौका प्रहार गरेका थिए। खराब सुरुवात गरेको नेपालको इनिङलाई गति दिएका पारस आउट भएसँगै नेपालको इनिङ संकटमा परेको छ।
अहिले रोहिककुमार पौडेल र बसन्त रेग्मीले ब्याटिङ गरिरहेका छन्।
खेलमा पारसले 'लिस्ट ए' को खेलमा एक हजार रन पूरा गरेका थिए। उनी 'लिस्ट ए' को खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने। स्कटल्यान्ड विरुद्धको खेलअघि एक हजार रन पूरा गर्न ९ रनले टाढा रहेका पारसले पाँचौ ओभरमा चौका प्रहार गरेर एक हजार रन पूरा गरेका थिए। पारसले 'लिस्ट ए' का ३० खेल खेलेका छन्। जसमा उनले २ शतक र ७ अर्धशतक प्रहार गरेका छन्।
यसअघि पाँच ओभरभित्र सुरुवाती ४ विकेट गुमाएपछि नेपाल सुरुवातमै दबाबमा परेको थियो।
ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमै आउट भए। ज्ञानेन्द्र साफयान शरिफको बलमा बोल्ड भएका हुन्। अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भए। नाथलाई विटिङ्घमले एलबिडब्लुको धरापमा पारेका हुन्। यस्तै, दीपेन्द्रसिह ऐरी पनि १ रनमै पेभिलियन फर्के। लगत्तै शरद भेषावकरलाई पनि विटिङ्घमले बोल्ड गरे।
यसैगरी, आठौं ओभरको अन्तिम बलमा आरिफ शेख पनि पभेलियन फर्कए। २ रन मात्र जोडेका आरिफ वेरिङ्टनको बलमा क्याच आउट भए। आरिफ आउट हुँदा नेपालको स्कोर ३९ रन मात्र थियो।
सोमपाल कामी १८ रनमा रनआउट भए। आउट हुनुअघि पारससँग ४२ रनको साझेदारी गरेका उनले ५४ बल खेलेर २ चौका प्रहार गरे।
बलिङतर्फ स्कटल्यान्डका विटिङ्घमले ३ विकेट लिएका छन्।
प्रतियोगितामा नेपालले दोस्रो खेल खेलिरहेको छ। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो। स्कटल्यान्डले भने तेस्रो खेलमा प्रतिस्पर्धा गरिरहेको छ। यसअघि स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।