अष्ट्रेलियाका उपकप्तान डेभिड वार्नरले दक्षिण अफ्रिकाका विकेट किपर क्विन्टन डी ककमाथि पहिलो टेस्टको दौरान आक्रमण गर्न खोजेपछि दुई देशबीच जारी टेस्ट श्रृंखला तनावपूर्ण भएको छ।
धेरैले वार्नरले अर्को टोलीका खेलाडीलाई आक्रमण नै गर्न जानुलाई गलत भएको बताएका छन्।
मार्च १ देखि दक्षिण अफ्रिकाको डर्बनमा भएको पहिलो टेस्टको चौथो दिन चिया विश्रामका लागि ड्रेसिङ रुम जाने क्रममा वार्नरले भर्याङमा डी ककमाथि आक्रमणको प्रयास गरेको भिडियो पाँचौ दिनमा दक्षिण अफ्रिकाले खेल हारेपछि स्थानीय मिडियाले सार्वजनिक गरेका थिए।
जीतका लागि ४१७ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिका चियाको समयसम्म १३६ रन बनाउँदा पाँचौ विकेट पतन भएपछि डी कक र एके मारक्रमले ३१ रनको साझेदार गरेर १६७ पुर्याएका थिए।
डी ककमाथि वार्नर जाइ लाग्न खोजेपछि कप्तान स्टिभ स्मिथ र ब्याट्सम्यान उसमान ख्वाजाले वार्नरलाई रोकेको भिडियोमा देखिन्छ।
भिडियो सार्वजनिक भइसकेपछि वार्नरले भने भर्याङमा चढ्दै गर्दा डी ककले श्रीमती (वार्नरकी) को नाम लिएर एकदमै तल्लो स्तरको गाली गरेको आरोप लगाएका छन्।
https://www.youtube.com/watch?v=09kGJZZLlEg
डी कक डरपोक भएकाले पछाडिबाट आवाज दबाएर गाली गरेको आरोप लगाएका छन्।
वार्नरले हिम्मत भए आँखामा आँखा जुझाएर भन्न डी ककलाई चुनौतीसमेत दिएका छन्।
वार्नर सन् २०१३ मा इंग्ल्याण्डका हालका टेस्ट कप्तान जो रुटलाई पब (रेष्टुरेन्ट)मा मुक्का हानेर कार्बाहीमा परेका थिए।
वार्नरले आफू पनि अरु खेलाडीलाई स्लेजिङ गर्ने र अरुले पनि आफूलाई गर्नु सामान्य भए पनि ‘मैले प्रायः सबै खेलमा संसारमा भएका सबै गाली सुन्न गरेको छु, यो मेरा लागि सामान्यजस्तै हो, त्यसले केही फरक पार्दैन,’ वार्नरले भनेका छन्, ‘तर हरेक कुराको सीमा हुन्छ। मेरी श्रीमती वा परिवारका अन्य सदस्यलाई गाली गर्दा मलाई असह्य हुन्छ।’
दक्षिण अफ्रिकाका प्रशिक्षक र टिमका अन्य सदस्य र पूर्वखेलाडीले वार्नरले अरुलाई गालीगलौज गर्ने गरेकाले यसको सीमा पनि उनैले तोक्न नहुने बताएका छन्।
हालसम्म डी ककले वार्नरलाई गाली गरेको हो कि होइन भन्ने पुष्टि भइसकेको छैन।
डी ककमाथि वार्नर झम्टन खोजेको भिडियो भने सार्वजनिक भइसकेको छ।
प्रतिष्पर्धी टोलीका खेलाडीलाई स्लेजिङ गर्नुलाई खेलको एउटा महत्वपूर्ण रणनीति मानेर खेल्ने अष्ट्रेलिया क्रिकेटमा सबैभन्दा सफल टोली हो। उसले अहिलेसम्म ५ पटक वान डे विश्वकप जितेको छ भने टेस्ट इतिहासमा पनि सबैभन्दा सफल टिम हो।
अष्ट्रेलियासँग खेल्ने टोलीका प्रायः ब्याट्सम्यानले क्रिजमा पुगेर बलको सामना गर्नुपूर्व स्लेजिङ सहनुपर्छ।
अष्ट्रेलियन खेलाडीले प्रतिष्पर्धी टोलीका ब्याट्सम्यानलाई सुरुमै भन्ने गर्छन्–अनि तिम्री श्रीमती र मेरा छोराछोरीहरूको हालखबर के छ त?
यो तहसम्मको स्लेजिङलाई सामान्य ठान्ने अष्ट्रेलिया र वार्नरले अरु राष्ट्र र खेलाडीलाई स्लेजिङको सीमाना तोक्न नसुहाउने दक्षिण अफ्रिकी किक्रेटर र समर्थकको तर्क छ।