नेपालले एकदिवसिय मान्यता पाउने सम्भावना बढेको छ। आफ्नो समूह 'बि' मा लगातार ३ खेलमा हार बेहोरेको नेपालले आज सोमबार हङकङलाई पाँच विकेटले हराएपछि सो सम्भावना जिवित बनेको हो। नेपाल समूहमा चौथो भएको छ। हङकङ नेपालभन्दा तल पाँचौ स्थानमा रहेको छ। नेपालले रनरेटका आधारमा हङकङलाई एक स्थान तल पारेको हो।
आजको खेलमा हङकङले दिएको १ सय ५४ रनको चुनौतीलाई नेपालले ४०.४ ओभरमा पाँच वीकेट गुमाउँदै प्राप्त गर्यो ।
बलिङमा राम्रो देखिएको नेपालले ब्याटिङमा भने खराब सुरूवात गर्यो। छिटो छिटो पतन भएको विकेटले दबाबमा परेको नेपालको जीतका लागि रोहित कुमार पौडेल र सोमपाल कामीको ८९ रनको साझेदारी जितको आधार भयो। रोहितले नटआउट ४८ रन बनाउँदा सोमपालले नटआउट ३७ रनको योगदान दिए। रोहितले ८६ बलमा ६ चौका हाने भने सोमपालले ४० बलमा ४ चौका प्रहार गरेका थिए।
४१ रनको साझेदारीमा पहिलो वीकेट गुमाएको नेपालले ६६ रन बनाउँदासम्म ५ विकेट गुमायो जसले नेपाललाई राम्रै दबाबमा पर्यो।
पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका अनिल कुमार साह २६ रन बनाउँदै आउट भए। उनले ३६ बलमा ५ चौका प्रहार गरेका थिए। यसैगरी अर्का ओपनर ज्ञानेन्द्र मल्ल ३१ मा १२ रन बनाउँदै पेभिलियन फर्के। दुवै एजाज खानबाट आउट हुन पुगेका थिए। कप्तान पारस खड्का पनि ब्याटिङमा चम्कन सकेनन, उनले निराशाजनक ब्याटिङ गरे। उनी ११ रनमै आउट हुन पुगे भने आरिफ शेख पनि २ रनमा एलबिडब्लु भए। दीपेन्द्रसिंह ऐरी पनि १२ रनमै बाहिरिए।
आजको खेल्मा मैदानमा टस जितेर हङकङले ब्याटिङ रोजेको थियो। ४८.२ ओभरमा आफ्ना सबै वीकेट गुमाउँदै हङकङले नेपाललाई १ सय ५४ रनको लक्ष्य दियो।
यसका लागि नेपाली स्टार बलर सन्दिप लामिछानेको ३ विकेट र वसन्त रेग्मी तथा करण केसीको २-२ विकेट महत्वपूर्ण रहे। हङकङलाई अलआउट गर्ने क्रममा सोमबार कामी र ललित राजवंशीको एक-एक वीकेटको योगदान रह्यो। सन्दीपले हङकङका अंशुमान राथ, शाहिद वासिप आइजाज खानलाई पेभेलियन फर्काएका थिए।
हङकङका सुरूवाती ब्याट्सम्यान क्रिस्टोफर कार्टर ९ रनको स्कोरमा बसन्तको बलमा बोल्ड भएका थिए। हङकङका कप्तान बाबर हयात तीव्र रन बनाउने होडमा सोमपाल कामीबाट कट एन्ड बोल्ड हुन पुगे। उनले १ छक्का र ३ चौकाको मदतमा २० रन जोडेका थिए । उनले अर्का सुरूवाती ब्याट्सम्यान खानसँग मिलेर २९ रनको साझेदारी गरे।
त्यसपछि ५ रन जोड्दा हङकङले आफ्ना २ विकेट गुमाउन पुग्यो। ब्याट्सम्यानद्वय अन्सुमन राठ र साहिद वासिफ समान १-१ रनमा आउट भएपछि हङकङ दबाबमा पर्यो। सन्दीप लामिछानेले राथलाई विकेटकिपर अनिलकुमार शाहको हातबाट स्टम्पिङ गराए। त्यस्तै वासिफलाई लामिछानेले एलबिडब्लुमा आउट गराएका थिए।
त्यसपछि मैदान छिरेका सिमान्दिप सिंहलाई नेपाली बलर ज्ञानेन्द्रले ३ रन मात्र जोड्न दिए। सिंह रनआउट भए। छैटौँ विकेटका रुपमा हङकङले आफ्नो सुरूवाती ब्याट्सम्यान निजाकत खानलाई गुमाएको थियो। उनले ४७ रन जोडे। खान ललित राजवंशीको बलिङमा नेपाली कप्तान पारस खड्काबाट क्याच आउट भए।
आजको खेलमा नेपालका रोहित कुमार म्यान अफ द म्याच घोषित भएका छन्।