जिम्बाम्बेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल आठौं स्थानमा सीमित भएको छ। एक दिवसीय मान्यता पाएको नेपाल योसँगै विश्व वरियताको १६औं स्थानमा परेको छ।
शनिबार सातौं स्थानका लागि भएको प्लेअफ खेलमा नेदरल्याण्डसँग ४५ रनले पराजित हुँदै नेपाल नेपालले यात्रा टुंगयाएको हो।
१ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रनमा समेटियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन बनाए। ५३ बल खेलेका कामीले ३ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै दीपेन्द्र सिंह ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रन जोडे।
सन्दीप लामिछाने १४ रनमा नआउट रहे भने करन केसीले १३ रन जोडे।
नेपालको ओपनिङ सधैं झैं खराब रह्यो। ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा अर्का ओपनर अनिलकुमार साहले ८ रन मात्र जोडे। आरिफ शेख ५ रन र रोहित कुमार पौडेल शून्य रनमा आउट भए। शक्ति गौचन शून्य रनमा आउट हुँदा ललितले २ रन बनाए।
नेपाललाई कम योगफलमा रोक्न नेदरल्यान्ड्सका भान डेर मेर्वेले ४ विकेट लिए।
त्यसअघि जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८९ रन जोड्यो।
नेदरल्यान्ड्सका लागि बास डे लिडीले सवैभन्दा बढी ३९ रन जोडेका थिए। यस्तै भान डेर मेर्वे र स्कट इडवार्डले समान २५–२५ रन बटुले। यस्तै ओपनिङ ब्याट्सम्यान म्याक्स ओडोडले २८ रन बनाए।
नेदरल्यान्ड्सका पिटर सिलरले २३ रन जोडे।
बलिङतर्फ सोमपाल कामीले ४ विकेट लिए। उनले नेदरल्यान्डका सुरुवती ३ विकेट लिएपछि नेपाल हाबी भएको थियो। सोमपालले वेस्ले वारेसी र वेन कुपरलाई शून्य रनमा आउट गर्दा कप्तान पिटर बोरेनलाई ७ रनमा पेभिलियन फर्काए।
योसँगै सोमपाल 'लिस्ट ए' को खेलमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्। सोमपालले ३९ खेलमा खेल्दै ५० विकेट पूरा गरेका हुन्।
यस्तै सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट हात पार्दा शक्ति गौचनको नाममा १ विकेट रह्यो।
यसअघिका खेलमा मौका नपाएका शक्तिले बसन्त रेग्मीको स्थानमा खेलेका हुन्।
आजको खेलसँगै नेपालले जिम्बाम्बे यात्रा सकाएको छ। विश्व एक दिवसीय बरियतामा नेपाल १६औं स्थानमा रहेको छ।