भारतीय क्रिकेट टिमका पूर्वस्टार खेलाडी वीरेन्द्र शेहवागले नेपाली क्रिकेट टोलीको प्रशंशा गरेका छन्। २२ वर्षपछि ऐतिहासिक सफलता पाएको नेपाली क्रिकेट टोलीलाई विश्वभरबाट बधाई र शुभकामनाको ओइरो लागेको छ।
यसैबीच भारतीय टिमका ब्याट्सम्यान शेहवागले आफ्नो फेसबुक पेजमार्फत समर्थकको प्रश्नको लाइभ जवाफ दिँदै नेपाल र नेपालीको तारिफ गरेका हुन्।
सोमबार राति फेसबुक लाइभ मार्फत कुराकानी गर्ने क्रममा सुजन नामक एक समर्थकले राखेको प्रश्नको उत्तर दिँदै शेहवागले नेपाली टोलीलाई बधाई दिएका हुन्।
नेपाली समर्थकले एकदिवसीय मान्यता पाएको नेपाली टोलीलाई के भन्न चाहानुहुन्छ भन्ने प्रश्नमा शेहवागले यस्तो जवाफ दिए-
‘नेपाली टोलीले त कमाल गरेको छ। नेपाललाई अब एक दिवसीय राष्ट्रको दर्जा मिलेको छ र नेपाल एक दिवसीय राष्ट्रको सूचिमा प्रवेश गरेको छ,’ उनले भने।
उनले गत वर्ष यु-१९ एसिया कपमा नेपालले भारतलाई हराएको प्रशंग कोट्याउँदै भने- ‘एक दिवसीय मान्यता पाउनु अघि नेपालको अन्डर-१९ टोलिले भारतको अन्डर-१९ टोलिलाई हराएको थियो। त्यो समय नेपालले खेलेको खेल देखेर मजा आएको थियो र मैले त्यो खेल हेरेको पनि थिएँ।’
नेपाली टिमको मात्रै हैन शेहवागले नेपाल जान समेत मन लागेको सुनाउदै सम्पूर्ण नेपालीकै तारिफ गरे-‘मैले सुनेको छु कि नेपालीहरु धेरै प्यारा हुन्छन् भनेर। म आजसम्म नेपाल गएको छैन। नेपाल एउटा कमालको देश हो र मेरो इच्छा छ कि म एकपटक नेपाल गएर घुम्न चाहन्छु, त्यहाँका मानिसहरुसँग भेट्न चाहन्छु।’
नेपाली टोलिले एक दिवसीय मान्यता पाएको खुशीमा शेहवागले जोडे” मलाई धेरै खुशी लागेको छ की नेपालले यो उपलब्धि हाँसिल गरेको छ। अब अर्को छिमेकि देशले एक दिवसीय मान्यता पाएको छ जो अब हामीसँग वानडे क्रिकेट खेल्नेछ। म मेरोतर्फबाट सबै नेपाली र नेपाली टोलिलाई धेरै-धेरै शुभकामना दिन चाहन्छु।’
७ मिनेट लामो लाइभ भिडियोमा शेहवागले व्यक्तिगत जिन्दगी, आईपीएल टिम किंग्स ११ पन्जाबलगायत विषयमा कुरा गरेका छन्।
शेहवाग भन्दा अघि भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीले पनि नेपालले एकदिवसीय मान्यता पाएकोमा बधाई दिएका थिए।
विश्वकप छनोट अन्तर्गत प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरेको नेपालले हङकङ र पपुवा न्यु गिनीलाईपछि पार्दै एकदिवसीय राष्ट्रको मान्यता पाएको हो।
प्रतियोगिताको सुपर सिक्स चरण पुग्न असफल नेपाली टिमले समूह चरणको खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसँग हार बेहोर्यो भने त्यसपछि हङकङलाई पराजित गरे पनि नेट रन रेटको आधारमा अफगानिस्तानसँग पछि पर्दै सुपर सिक्स पुग्न असफल भएको थियो।
यो भिडियो हामीले उनको फेसबुक पेजबाट लिएका हौ।
https://www.youtube.com/watch?v=CF0f5z9lvJs&feature=youtu.be