धनगढी प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागि ६ टिमले टिममा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुर्याएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को मान्यता पाएसँगै टिमहरूले विदेशी खेलाडी भित्र्याउन सुरु गरेका हुन्।
यसपटकको डीपीएलमा विदेशी खेलाडीहरू भारत, पाकिस्तान, श्रीलंका, ओमान, हङकङ लगायतका देशबाट आउने भएका छन्। डिपिएलमा पहिलो पटक २ जना विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अनिवार्य गरेको हो।
शक्ति गौचन कप्तानी तथा रणनीति खेलाडी रहेको रूपन्देही च्यालेन्जर्सले ओमानका राष्ट्रिय क्रिकेटर सुफ्यान मेहमुद तथा भारत कोलकाताका घरेलु क्रिकेटर दिपक प्रसादलाई भित्र्याएको छ।
यस्तै ज्ञानेन्द्र मल्ल रणनीति खेलाडी रहेको काठमाडौं गोल्डेन्सले यसअघि एभरेस्ट प्रिमियर लिग इपिएलमा ललितपुर प्याट्रिएट्सको लागि खेलेका दुई भारतीय क्रिकेटर जयकिशन कोल्सावाला र सन्नी पटेललाई अनुबन्धित गरेको छ।
यस्तै कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किंग्सले हङकङबाट नै खेलाडी ल्याउने तयारी गरिरहेको छ। जसमा इपिएलमा विराटनगरबाट नै खेलेका बाबर हायात आउने पक्का भइसकेको छ भने अर्को खेलाडीसँग कुरा भइरहेको बताइएको छ ।
विनोद भण्डारीको टिम महेन्द्रनगर युनाइटेडले भारत र पाकिस्तानबाट खेलाडी ल्याउने तयारी गरेको छ। टिमका अनुसार दुवै खेलाडी अलराउण्डर हुनेछन्।
दोस्रो सिजनको डीपीएलको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्वाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले १० लाख, तेस्रो हुने टिमले ३ लाख तथा चौथो हुने टिमले. २ लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउनेछन्।
आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।
प्रतियोगितामा खेलाडी छनोट गर्नका लागि गत महिना सम्पन्न अक्सन मार्फत सम्पन्न बसन्त रेग्मी, करन केसी, सागर पुन र आरिफ शेख सर्वाधिक महंगा खेलाडी बनेका थिए।
बसन्त रेग्मीलाई बिराटनगर किंग्स, करन केसी र आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड र सागर पुनलाई रुपन्देही च्यालेन्जर्सले रु १,५०,००० को बोलि लगाएका थिए।