प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने बताएका छन्। हास्यँ कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल(धुर्मुस)सँग शुक्रबार भएको भेटवार्तामा ओलीले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले भारत भ्रमणपश्चात रंगशाला बनाउन चाहिने भैतिक पुर्वाधार एवं लागत रकममा सरकारले ध्यानाकर्षण गर्ने बताएका छन्।
‘क्रिकेट रंगशाला बनाउने तयारीमा लाग्नुहोस्। हामी साथमा छाै,’ प्रधानमन्त्रीको भनाईले आफूलाई उर्जा थपिएको कट्टेलले सेतोपाटीसँग भने।
४ वटा बस्ती निमार्ण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेसनलाई ‘नमुना वस्ती’ निर्माणको क्रममा नै जनस्तरबाट अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्नका लागि सुझाँव आएको थियो। सामाजिक सञ्जालमार्फत उनले नमुना बस्ती र किक्रेट रंगशालामा ‘कुन चाहिँ पहिला?’ भनेर स्टाटस समेत लेखेका थिए।
‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पनि नमुना नेपालको आधारभुत आवश्यक्ता भित्र नै पर्ने कुरा हो’ उनले भने, ‘रंगशाला निर्माणमा जनस्तरबाट सकारात्मक प्रतिक्रिया पायौं। धेरैले त सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।’
कट्टेलका अनुसार रगंशालाको नाम ‘लर्ड बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ राखिने भएको छ। कहाँ र कसरी रंगशाला बनाउने भनेर निर्माण समिति गठन भइरहेको उनले जानकारी दिए।