काठमाडौं गोल्डन्सले रूपेन्देही च्यालेन्जर्सलाई ६३ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।
जारी धनगढी प्रिमियर लिग(डीपीएल)–२ कै ठूलो लक्ष्य १८७ रन दिएको काठमाडौंले रूपन्देहीलाई १२३ रमा समेटेको हो।
सोमबार धनगढीमा भएको दोस्रो खेलमा काठमाडौंले पहिले ब्याटिङ गर्दै १ सय ८७ रन बनाएको थियो। १८८ रनको लक्ष्य लिएर मैदानमा आएको रूपन्देही निर्धारित २० ओभरको खेलमा १८.४ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय २३ रनमा समेटियो।
उसका लागि ओपनर प्रदीप ऐरीले अर्धसतकीय पारी खेलेपनि टिमलाई जिताउन सकेनन्। ४१ बल खेलेका ऐरीले ५ छक्का र ५ चौका प्रहार गरेका थिए।
सागर पुनले १८ तथा दीपक प्रसादले १० रन बनाउनुबाहेक रूपन्देहीका अन्य खेलाडीले खेल्न सकेनन्।
रूपन्देहीलाई सस्तैमा रोक्न काठमाडौंका रासिद खानले ४ विकेट लिए भने ललितनारायण राजबंशीले ३ विकेट लिए।
यसअघि काठमाडौंका लागि भारतीय खेलाडी सन्नी पटेलले ४८, सुबोधकुमार भाटीले ४२, अमित श्रेष्ठ र नरेश बुढाऐरले समान ३० रन जोडेका थिए। कप्तान ज्ञानेन्द्र मल्ले २० र भुपेन्द्र थापाले १४ रन जोडे।
रुपेन्देहीका अमरसिंह रौटेला, विक्रम भुषाल र सुफायन मोहम्मदले समान १ विकेट लिए।