महेन्द्रनगर युनाईटेडलाई ८ विकेटले हराउँदै टिम चौराहाले धनगढी प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गर्दै दोस्रो स्थानमा उक्लिएको छ।
धनगढीस्थित संघीय इकाइ प्रहरीको मैदानमा मंगलबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।
महेन्द्रनगरका लागि सुरूवाती खेलाडीको कमजोर प्रदर्शनका कारण उसले ३० रन बनाउँदा ४ विकेट गुमाएको थियो।
कप्तान विनोद भण्डारीले ११ रन बनाउँदा आशिफ शेख ८ रनमा आउट भए। पुनित महेराले ४० रन बनाउँदा भुवन कार्कीले ३२ रनको योगदान दिए। पुनित विष्टले २४ रन थपेका थिए। बलिङ तर्फ धनगढीका ललित भण्डारीले ४ विकेट लिए।
जवाफी ब्याटिङ थालेको धनगढीले खेल सकिन १२ बल बाँकी छँदै ८ विकेटले जित हात पार्यो।
४७ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीका लागि ओपनर अस्फाक अहमेद ३० रनमा आउट भए।
त्यसपछि दोस्रो विकेटका लागि रोहन मुस्तफा र सुनिल धमलाले ६७ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याए। रोहनले ३९ रन बनाए भने सुनिल धमलाले अविजीत ४६ रनको योगदान दिए।
यस्तै सोनु तामाङले १५ रन थपे। बलिङ तर्फ अविनाश कर्ण र पुनित मेहराले एक एक विकेट लिए।
प्रतियोगितामा भोलि विराटनगर किङस र रूपन्देही च्यालेञ्जर्स तथा सिवाइसी अत्तरीया र काठमाडौं गोल्डेन्स बीच प्रतिस्पर्धा हुनेछ।