रूपन्देहीलाई हराउँदै विराटनगर किङ्सले धनगढी प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ।
कैलालीको संघीय इकाई प्रहरीको मैदानमा बुधबार भएको पहिलो खेलमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रनको बिशाल योफल बनायो।
पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेको विराटनगरका लागि बाबर ह्यातले सर्वाधिक ५८ रन बनाए। यस्तै अनिल शाहले ३६ रन बनाउँदा कप्तान पार खड्काले २२ रन जोडे। दिलिप नाथले ४३ रन बनाएका थिए।
बाबर हायात र दिलिप नाथले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए।
बलिङ तर्फ रूपन्देहीका सेफयान मोहम्मदले दुई विकेट लिए।
१८२ रनको जवाफी ब्याटिङ थालेको रूपन्देहीले २० ओभरमा १ सय ३९ रनमा समेटियो।
उसका लागि प्रदिप ऐरीले सर्वाधिक ५४ रन बनाउँदा दिपक प्रशाद २२ रनमा आउट भए। ६६ रन बनाउँदा तीन विकेट गुमाएको रुपन्देहीले १ सय रन कटाउँदा सात विकेट गुमाएको थियो ।
उसका पाँच खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिङ तर्फ विराटनगरका सुभम कामतले तीन तथा रामनरेश गिरीले दुई विकेट लिए।
जारी प्रतियोगितामा तीन खेल खेलेक रूपन्देही अंक बिहिन छ। आजको हारसँगै रूपन्देहीको प्लेअफमा पुग्ने सम्भावना कठीन भएको छ।
यता दुई खेलबाट पहिलो जित हात पारेको पारस खड्का कप्तान रहेको विराटनगर २ अंकसहित समूहको पाँचौ स्थानमा छ। काठमाडौं गोल्डेन्स र धनगढी ४ अंकसहित समूहको शीर्ष दुई स्थानमा छन्।