विराटनगर किङ्सले लगातार दोस्रो जित दर्ता गरेको छ। धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा विराटनगरका पवन सर्राफले अलराउन्ड प्रदर्शन गरे।
बिहीबार भएको खेलमा घरेलु टिम चौराहा धनगढीलाई १८ रनले हराउने क्रमा सर्राफले ४१ रन बनाउनुका साथै महत्वपूर्ण ४ विकेट पनि लिएका छन्।
पहिले ब्याटिङ गर्दै विराटनगरले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९ रनमा समेटियो।
धनगढीलाई सस्तैमा समेट्ने क्रममा पवनले सर्वाधिक ४ विकेट लिए।
धनगढीका लागि सबैभन्दा बढी रन बनाएका शंकर रानाले २५ रन बनाए भने राजु रिजालले१८ रन बनाए।
ओपनर अस्फाक अहमेदले २२ तथा सुनील धमलाले १२ रन बनाउनुबाहेक अन्यले खुलेर खेल्न सकेनन्।
विराटनगरका बसन्त रेग्मी र कप्तान पारस खड्काले समान २–२ विकेट हात पारे। शुभम् कामतले १ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले अन्तिब बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय २७ रन बनाएको थियो।
उसका लागि विराटनगरका लागि पवन सर्राफले सर्वाधिक ४१ रन जोडेका थिए। ३४ बल खेलेका उनले १ चौका र २ छक्का हिर्काए। यस्तै ओपनर अनिलकुमार साहले २५ रन जोडेका थिए भने दिलीप नाथ ४ रनमा आउट भए।
बाबर ह्यायत १५ रन बनाएर आउट भए भने कप्तान पारस खड्का २ रनमा आउट भए।
पृथु बाँस्कोटा ३ तथा शुभम् कामतको १८ रन बनाए पछि विराटनगर मध्यम स्कोर बनाउन सफल भयो।
बलिङतर्फ धनगढीका सुनील धमलाले ४ विकेट लिए भने सोमपाल कामी र रोहान मुस्ताफाले २–२ विकेट हात पारे। ललित भण्डारी र सांसद शेखले १–१ विकेट लिए।
आजको जितसँगै तीन खेलमा २ जितसहित ४ अंक जोडेको विराटनगर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेलबाट ४ अंक जोडेको धनगढी तेस्रो स्थानमा झरेको छ।