धनगढी प्रिमियर लिगमा लगातार चौथो जित हात पार्दै काठमाडौं गोल्डन्स प्लेअफमा पुगेको छ।
शुक्रबार विराटनगर किङलाई अन्तिम बलमा ५ विकेटले हराउँदै लिगको शिर्ष स्थानमा रहेको काठमाडौं गोल्डेन्स दोस्रो चरणमा पुगेको हो।
विराटनगरले दिएको १६५ रनको लक्ष्य काठमाडौंले अन्तिम बलमा पुरा गरेको थियो।
उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले ६८ रनको पारी खेले। ४० बल खेलेका मल्लले ४ छक्का र ५ चौका प्रहार गर्दै नट आउट रहे।
यस्तै सन्नी पट्टेलले बिस्फोटक ब्याटिङ गर्दै १० बलमा २५ रन बनाए। उनले ३ छक्का र १ चौका प्रहार गरे।
पुष्प थापाले १७ बलमा २४ रन बनाएर काठमाडौंलाई जित नजिक पुर्याए।
यसअघि भुपेन्द्र थापाले ३६ तथा सुबोध भातीले १० रन जोडे।
विराटनगरका बसन्त रेग्मीले २ तथा पारस खड्का, शुभम कामत र मन्जित श्रेष्ठले समान १-१ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६४ रन बनाएको थियो।
विराटनगरका लागि फेरि एकपटक हङकङका खेलाडी बाबर हायातले उत्कृष्ट प्रदर्शन गरे।
जारी प्रतियोगितामा दोस्रो अर्धसतक प्रहार गरेका हायातले ६७ रनको योगदान दिएका थिए। दिलिप नाथले ३३ रन बनाउनुबाहेक अन्यले राम्रो रन जोड्न सकेनन्।
बसन्त रेग्मीले १० र पृथु बास्कोटाले ११ तथा कप्तान पारस खड्काले ८ रनको योगदान गरे ।
बलिङ तर्फ ललितनारायण राजवंशीले तीन तथा रासिद खानले दुई विकेट लिए।
यो जितसँगै काठमाडौंले ४ खेलबाट सतप्रतिशत अंक जोड्दै शीर्ष स्थानमा यथावत छ। यस्तै दोस्रो पराजय बेहोरेको विराटनगर लिगको तेस्रो स्थानमा झरेको छ।