महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्स धनगढीमा जारी धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।
प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा मंगलबार सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।
सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइटेडले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ३० बनाएको थियो। एक सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिवाईसी अत्तरियाले चार विकेट गुमाएर एक सय १५ रन मात्र बनाउन सक्यो।
महेन्द्रनगर युनाइटेडका लागि आरिफ शेखले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा पाँच चौका प्रहार गरे । पुनित मेहराले २९ बलमा एक छक्का र दुई चौकासहित २६ रन बनाए । करण केसीले अविजित रहँदै २४ रनको योगदान दिए । उनले १३ बलमा एक छक्का र तीन चौका हाने। आरिफ शेख र रोहितकुमार पौडेलले समान ११ रन बनाए ।
बलिङतर्फ सिवाईसी अत्तरियाका लागि कमलसिंह ऐरीले दुई तथा कृष्ण कार्की, शुभांकर उराव, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपीन चन्द्रले एक/एक विकेट लिए ।
कप्तान दीपेन्द्रसिंह ऐरी २७ रनमा रन आउट भएपछि अत्तरियाको पारी धरमराएको थियो। ऐरीले ३४ बल खेल्दै एक छक्का प्रहार गरे। सुवास खकुरेलले सर्वाधिक ३० रन बनाए। उनले २५ बल खेल्दै एक छक्का र दुई चौका हाने । विपीन चन्द्रले अविजित २८ रन बनाए । उनले २९ बलमा एक छक्का प्रहार गरे । गौरव चित्काराले १४ बलमा १४ रनको योगदान दिए ।
बलिङतर्फ महेन्द्रनगर युनाइटेडका रवीन क्षेत्रीले चार ओभरमा १६ रन दिएर दुई
विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । भुवन कार्कीले चार ओभर बलिङ गर्दै २० रन दिई एक विकेट लिए ।
महेन्द्रनगर युनाइटेडले बुधबार फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्ससँग प्रतिष्पर्धा गर्ने छ । आजै सम्पन्न टिम चौराह धनगढीसितको खेलमा काठमाडौँ गोल्डेन्स एक विकेटले पराजित भएको थियो ।