काठमाडौं गोल्डेन्सलाई हराउँदै टिम चौराहा धनगढीले दोस्रो संस्करणको धनगढी प्रिमियर लिगको उपाधि जितेको छ।
शुक्रबार भएको रोमाञ्चक फाइनलमा साविक विजेतासमेत रहेको टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधिमाथि कब्जा गरेको हो।
कैलालीस्थित नेपाल प्रहरीको मैदानमा चौरहाले छोडेको १८१ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १६० रनमा समेटियो।
उसका लागि अमित श्रेष्ठले ५८ रन बनाएका थिए। यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ३० तथा सन्नी पटेल २२ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।
काठमाडौंलाई रोक्ने क्रममा ललित भण्डारीले ३ तथा रोहन मुस्ताफाले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो।
घरेलु दर्शकमाझ उत्कृष्ट ब्याटिङ गरेको धनगढीले दोस्रो विकेटका लागि सुनिल धमला र रोहन मुस्तफाले १ सय ४२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।
रोहन मुस्तफाले ४२ बलमा ६० रन बनाउने क्रममा रोहनले चार चौका र चार छक्का प्रहार गरे ।
यस्तै सुनिल धमलाले ७८ रन बनाए। उनले ६२ बलमा आठ चौका र तीन छक्का प्रहार गरे ।
बलिङ तर्फ सुबोध भाटीले दुई विकेट लिएका थिए।
चौराहाले घरेलु मैदानमा भएका तीन वटा प्रतियोगिताको उपाधि जितेको छ। दुई वर्ष अगाडि भएको धनगढी क्रिकेट लिगको उपाधि जितेको चौराहाले अघिल्लो वर्ष डीपीएलको पहिलो संस्करणको च्याम्पियन बनेको थियो। यसपटक पनि उसले उत्कृष्ट रुपमा उपाधि कब्जा गर्न सफल भयो। उपाधिसँगै चौराहाले २५ लाख रूपैया पायो भने उप-विजेता काठमाडौंले १० लाख रुपैयामा चित्त बुझाउनुपर्नेछ।