चेन्नई सुपर किङ्सलाई हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ सम्भावना जिवितै राखेको छ।
अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई शुक्रबार ४ विकेटले हराउँदै राजस्थान अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ।
१ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले अन्तिम बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो। उसका लागि ओपनर जोस बटलरले उच्च प्रदर्शन गरे। अविजित रहँदै बटरलले ९५ रनको योगदान गरेका थिए। ६० बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे। यस्तै स्टुवार्ट बिन्नीले २२, सञ्जु सामसनले २१, कृष्णप्पा गोथमले १३ र बेन स्टोक्सले ११ रन जोडेका थिए।
चेन्नईका डेभिड विली, हरभजन सिंह, रविन्द्र जडेजा, सदृल ठाकुर र ड्वायन ब्राभोले समान १-१ विकेट लिए पनि जितका लागि पर्याप्त भएन।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। उसका लागि सुरेश रैनाको अर्धशतक प्रहार गरेका थिए। रैनाले ३५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा टोलीका लागि सर्वाधिक ५२ रन बनाए।
यस्तै ओपनर शेन वाट्सनले ३९, कप्तान महेन्द्र सिंह धोनीले अविजित ३३, साम बिलिङ्सले २७ र अम्बाटी रायडुले १२ रन बनाएका थिए।
राजस्थानका जोफ्रा आर्चरले २ तथा इश सोदीले १ विकेट लिएका थिए।
यो खेलसँगै चेन्नई हारका वावजुद १४ अंकसहित दोस्रो स्थानमा कायमै छ। छैठौं स्थानमा पुगेको राजस्थानको १० अंक पुगेको छ। शीर्ष स्थानमा रहेको हैदारावाद १८ अंकसहित प्ले अफका लागि छनोट भइसकेको छ।
आइपिएलमा शनिबार किङ्स ११ पञ्जाब र कोलकता नाइट राइडर्स तथा दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।