इन्डियन प्रिमियर लिग (आईपीएल) को ११औं संस्करणमा दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले आफूले दिल्लीबाट धेरै कुरा सिक्न पाइरहेको बताएका छन।
रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध शनिबार आईपीएलमा डेब्यू गरेका सन्दीपले मंगलबार दिउँसो आफ्ना फ्यानहरुसँग फेसबुक लाइभमार्फत कुरा गर्दै आफूले दिल्लीबाट देशका लागि धेरै कुरा सिक्न पाएको बताएका हुन्।
१५ मिनेटसम्म लाइभ संवादमा रहेका सन्दिपले कडा मेहनत र कठोर अनुशासनमा रहेर आफूमाथिको विश्वासलाई प्रमाणित गर्न चाहेको बताए।
उनले नेपाल र भारतको पिचमा धेरै फरक भएको भन्दै नेपालका पिचमा धेरै टर्नहरु हुने र भारतका पिचहरु अलिक स्किर्टी हुने स्पष्ट पारे।
आफूले खेल्दा र प्रशीक्षणका क्रममा धेरै राम्रा अनुभवहरू संगालेको बताएका छन्।
दिल्लीमा आएर आफूले धेरै कुरा सिक्न पाएको भन्दै उनले राम्रा प्रशिक्षक र राम्रा खेलाडीमाझ कडा मेहनत र अनुशासनमा रहेर आफूलाई प्रमाणित गर्ने मौका मिलेको बताए।
उनले आफूले जहाँ खेले पनि नेपाली क्रिकेट सधैँ पहिलो प्राथमिकतामा पर्ने दाबी गरे।
आरसीबीविरुद्ध दिल्लीबाट पहिलो ओभरमै बलिङ गर्न पाएका सन्दीपले पार्थिव पटेललाई आउट गरेपछि विराट कोहली र एबी डी भिलियर्सविरुद्ध पनि बलिङ गरेका थिए । ४ ओभर बलिङ गर्दै २५ रन दिएर एक विकेट लिएका सन्दीप सबैभन्दा किफायती बलर बनेसँगै उनको चर्चा चलेको छ।
सन्दीपले नेपाली क्रिकेटले डिभिजन पाँचदेखि एकसम्म आईपुग्न कठिन मेहनत गर्नुपरेको बताए।
हेर्नुहोस् भिडियोमाhttps://www.facebook.com/delhidaredevils/videos/1796654473689379/?t=1
भिडियो दिल्ली डेयरडेभिल्सको फेसबुक पेजबाट