आर्मीलाई हराउँदै अर्को विभागीय टोली एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीलाई ६ विकेटले हराउँदै एपिएफले उपाधि रक्षा गरेको हो।
पहिले ब्याटिङ गर्दै आर्मीले दिएको २१० रनको लक्ष्य एपिएफले ४१.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। एपीएफलाई उपाधि दिलाउने क्रममा ओपनर अनिलकुमार शाह र प्रदीप ऐरीले समान ६३-६३ रनको योगदान दिए।
ओपनर सुवास खकुरेल १२ रनको अवस्थामा घाइते भएर रिटायर्ड हट भएपछि क्रिजमा आएका ऐरीले २ छक्का र २ चौकाको सहयोगमा ६३ रन बनाएका हुन्।
प्रदीप र अनिलकुमारले पहिलो विकेटका लागि ११९ रनको साझेदारी गर्दै एपिएफलाई जितको आधार बनाएका थिए।
एपीएफका लागि पृथु बास्कोटाले ३२ र रोहितकुमार पौडेलले १५ रन बनाए।
त्यसपछि अन्तिम क्रमका सुबास खकुरेल र करन केसीले अविजित रहँदै १५-१५ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो। आर्मीका लागि भिम सार्कीले सर्वाधिक ४५ रन बनाए भने राजेश पुलामीले २७ रन बनाए।
यस्तै सोमपाल कामीले ३६ तथा बिनोद भण्डारीले ३५ रन बनाए।
एपीएफका लागि करण केसीले ३ विकेट लिएका थिए। यस्तै भुवन कार्की र बसन्त रेग्मीले समान २-२ विकेट लिए।
खेलको म्यान अफ दि म्याच एपिएफका अनिलकुमार साह भए। यस्तै सागर पुन म्यान अफ दि सिरिज भए।
खेलको विजेता एपिएफलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार दिएका थिए। विजेताले नगद २० लाख रूपैयाँ र उपविजेता आर्मीले १० लाख पाएका थिए।