कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) का लागि पोखरा रंगशालामा क्रिकेट मैदान मर्मतसम्भार तीव्र बनाइएको छ।
क्विन इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा कात्तिक ९ देखि २० गतेसम्म हुने टी २० क्रिकेटको आयोजना गर्न क्रिकेट मैदान निमार्ण काम तिब्र रुपमा भएको आयोजकले जानकारी दिएको छ।
सोमबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमले सहभागिता जनाउने क्विनस इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए।
क्रिकेट मैदानमा ४ वटा क्रिकेट पिचको मर्मत सम्भार भईरहेको छ। सेन्टर क्रिकेट पिचसहित दुई वटा बनिसेका छन् भने अन्य दुई वटामा दुबो रोप्न बाँकी रहेको लामाले बताए ।
मैदानमा पिच मात्र होइन आउट फिल्ड सम्याउने र बिस्तार गर्ने काम पनि अगाडि बढेको छ। क्रिकेट मैदानलाई फराकी बनाउने काम भईरहेको छ भने फराकी बनाएको मैदानमा माटो हालेर घाँस रोप्ने उनले जानकारी दिए।
चारैतिर ३ मिटर थपेर अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट आउट फिल्ड बनाइने काम भई रहेको छ। डोजर लगाई थपेको मैदानमा बालुवा र माटो हालेर दुबो रोपिने काम भईरहको छ।
उपकप्तान ज्ञानेन्द्र मल्ल सहित क्रिकेट मैदानको अवलोन पछि नेपाली राष्ट्रिय टोलीका टिम क्याप्टेन पारस खड्काले क्रिकेट मैदान देखेर खुसी व्यक्त गरे। पाँच वर्ष अगाडि पोखरामा राष्ट्रिय टिमको प्राक्टिस गर्दा भन्दा निकै राम्रो भएको बताए।
प्याराफिट नभए पछि मैदानको उत्तरतर्फ दर्शक बस्न अस्थायी प्याराफिट निर्माण गरिने भएको छ । एक सय फलामे प्याराफिटमा करिब ४ हजार जना दर्शक बस्ने गरी निमार्ण गरिने लामाले बताए।
पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले यस्ता प्रतियोगिताले नेपाली क्रिकेटलाई माथि उठाउने बताए। उनले पोखरामा क्रिकेट मैदानलाई हेर्दा काम गरे हुदो रहेछ भन्ने प्रमाणित भएको बताए।
पोखरा, काठमाडौं र भारतका क्यूरेटरहरुले अहिले क्रिकेट मैदान निमार्ण गरिरहेका छन्। यसैगरी प्लेयर बक्स, स्कोर बोर्ड, बाउन्ड्रको पनि निमार्ण हुनेछ। मैदान छिटो सकिएमा पिपिएलको यु १६ प्रतियोगिता पनि पोखरामा नै गर्ने तयारी छ।
पत्रकार सम्मेलनमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसद दिपक कोइरालाले प्रतियोगिता लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए।