पोखरा रंगशालामा शुक्रबारदेखि शुरू हुने पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको पुरस्कार राशी सार्वजनिक भएको छ।
क्वेन्स इभेण्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा सञ्चालित फ्रेन्चाईज टिम बीच हुने प्रतिस्पर्धाको विजेताले २७ लाख रूपैयाँ र ट्रफि पाउने छ। यो पुरस्कार राशी नेपालमा सञ्चालित क्रिकेटको प्रिमियर लिगमध्ये सर्वाधिक पुरस्कार हो।
बुधबार प्रेस विज्ञप्ति मार्फत पुरस्कारको राशी सार्वजनिक गर्दै आयोजकले उपविजेताले १० लाख रुपैयाँ पाउने बताएको हो।
प्रतियोगितामा म्यान अफ दि सिरिज, उत्कृष्ट व्याट्सम्यान र उत्कृष्ट बलरलाई भिजी अटोमोवाईल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सिसीको मोटरसाईकल प्रदान गरिनेसमेत जानकारी दिएको छ।
प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ र ५ हजार बरबारको गिफ्ट ह्याम्पर पाउनेछन्।
पोखरा प्रिमियर लिगको हरेक खेलको विजेता टिमले विनिङ बोनस स्वरूप नगद १५ हजार ५ सय रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।
पीपीएलका हरेक खेलमा पनि विधागत व्य्कतिगत पुरस्कार राखिएको छ । खेलको उत्कृष्ट क्याच लिनेले ‘क्लियर टिभी क्लियर क्याच’ स्वरुप सुबीसुको प्रिमियम प्याकेज प्राप्त गर्नेछन्। सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडीले ‘सुबीसु फास्टेस्ट ५०’ शीर्षकमा १ वर्षका लागि हाइ स्पिड इन्टरनेट सुविधा पाउनेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार विराटनगर टाइटन्स र पोखरा पल्टन भिड्दै छन् । पोखरा पल्टन पछिल्लो केहि दिनदेखि पोखरामा छ भने विराटनगर आज पोखरा आउँदैछ । पोखराको मार्की खेलाडीमा शरद भेषावकर तथा विराटनगरमा सन्दीप लामिछाने मार्की खेलाडी छन्।