थाइल्याण्डमा सम्पन्न एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ।
उपाधि विजेता नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्यसचिव केशब कुमार बिष्ट, उपाध्याक्ष पिताम्बर तिमल्सिना, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटालगायतले स्वागत गरेका थिए।
थाइल्याण्डको चियाङमाईमा आइतबार मलेसियालाई हराउँदै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको थियो।
प्रतियोगितामा नेपालले सत प्रतिशत जित निकाल्न सफल भएको थियो। अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई हराउँदै उपाधि जितेको थियो।
विमानस्थलमा पत्रकारहरूसँग बोल्दै प्रशिक्षक बसन्त शाहीले युवा खेलाडीमा राम्रो क्षमता रहेको भन्दै उपाधि रक्षा गर्नु चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए। ओभरअल टुर फलदायी बनेकोमा निकै खुसी रहेको बताए।
क्यान निलम्बनमा रहेको स्थितिमा आफूहरूले अभिभावक विहिन भएर खेल्नुपरेको भन्दै उनले यसतर्फ सम्बन्धित निकायले ध्यान दिन ढिला भइसकेको बताए।
छोटो समयको तयारीमा पनि खेलाडीहरूको अथक प्रयास मेहनत र सबैको सहयोगले यो जित हात परेको उनले बताए।
‘क्रिकेटलाई निरन्तर रूपमा विकास गर्दै लाने हो भने क्रिकेटको जग बलियो बनाउनुपर्छ। किनकी हामी एक दिवसीय राष्ट्र हौ। सिनियर खेलाडीहरू अब धेरैमा ४-५ वर्षसम्म खेल्लान्। तर, त्यसपछिको लागि योग्य खेलाडी तयार पार्नुपर्यो। जग जबसम्म बलियो हुँदैन तबसम्म माथिको राम्रो हुन्न,’ उनले भने।
प्रशीक्षक बसन्तले दोस्रो पटक यू–१६ टिमलाई सम्हालेका थिए ।
नेपाली टिमका कप्तान विशाल विक्रम केसीले यो प्रतियोगिताबाट युवा खेलाडीमा रहेको क्षमता देखिएको बताए । साथै उनले उमेर समुहमा पछिल्लो पटक निकै कम प्रतियोगिता भइरहेका बेला अन्तराष्ट्रिय स्तरमा जस्तो प्रदर्शन हामीले गर्यौ त्यसबाट आफू सन्तुष्ट रहेको समेत बताए ।
‘यो सुरूवात मात्र हो। क्रिकेटको जगको रूपमा लिइने यो टोलीले समग्र मुलुकको क्रिकेट विकास र बिस्तारमा सहयोगसमेत पुर्याउँछ,’ उनले भने, ‘समग्रमा भन्नुपर्दा हाम्रो ब्याटिङ राम्रो थियो। यहाँको विकेट भन्दा त्यहाँ केही फरक विकेट थियो। ब्याटिङ गर्ने असहज थियो। सोचेजस्तो खेल खेल्न सकेनौ। तर, पनि हामी त्यहाँको वातावरणमा घुलमिल भयौ।’
‘हामी सबै नयाँ थियौं। धेरै कुरा सिक्ने मौका पायौं। खेल सहज थिएन। तर, हामीले राम्रो खेल्यौ। त्यहाँको विकेट यहाँको भन्दा फरक भएकाले ब्याट्समेनलाई संघर्ष गर्नुपरेको थियो। तर पनि जित्न सक्यौ। हामी सन्तुष्ट छौ,’ उनले भने।