वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग सिजन २ (केपिएल–२) को फाइनलमा विभागीय टोली त्रिभूवन आर्मी क्लव र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रवार भएको सेमिफाइनलअन्तर्गतको पहिलो खेलमा न्यू होराइजनले आयोजक कर्णाली–११ लाई ३ विकेट तथा दोस्रो खेलमा आर्मीले एपीएफलाई १ विकेटले पराजित गर्दै फाईनलमा आफ्नो खेल पक्का गरेका छन्।
वर्षा र हावाहुरीका कारण १३ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको कर्णाली–११ ले चार विकेटको क्षतिमा ६२ रन बनायो । कर्णाली–११ का कृष्ण कार्कीले सर्वाधिक ३३ रन बनाए।
सुरुका १७ रनमा तीन विकेट गुमाएको कर्णालीका लागि कार्कीले अन्तिममा आक्रामक व्याटिङ गरेका थिए। ३१ वलको सामना गरेका कार्कीले तीन चौका र एक छक्का प्रहार गरे।
होराइजनका बलर शक्ति गौचनले दुई विकेट लिए। ६३ रनको लक्ष्य होराइजन बुटवलले ११.५ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो । होराइजनका सुवेन्दू पाण्डेले १८, निश्चल चौधरीले १०, विशाल सुनारले अविजित १० तथा सुनिल धमलाले ८ रन बनाए । कर्णालीका लागि किशोर महतोले तीन तथा प्रकाश जैशीले दुई विकेट लिए ।
दोस्रो सेमिफाइनलमा त्रिभूवन आर्मी क्लवले एपिएफलाई एक विकेटको झिनो अन्तरले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ रोजेको एपिएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो । एपिएफका लागि शरद भेसवाकरले सर्वाधिक ३०, भूवन कार्कीले १९, पुरन विकले १३ र शंकर रानाले १२ रन बनाए । आर्मीका सोमपाल कामीले तीन, सुशन भारीले दुई तथा जितेन्द्र मुखिया र साहब आलमले एक–एक विकेट लिए।
८७ रनको लक्ष्य आर्मीले १७.४ ओभरमा ९ विकेट गुमाएर भेट्टायो। आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३१ तथा जितेन्द्र मुखिया र रोहित पौडेलले समान १२–१२ रन बनाए।
७३ रनमा नौ विकेट गुमाईसकेको अवस्थामा दशौँ विकेटका लागि आर्मीका जितेन्द्र मुखिया र साहब आलमले १५ रनको साझेदारी गर्दै टीमलाई रोमाञ्चक जित दिलाएका थिए।
आलमले अविजित २ रन बनाए । एपिएफका कमलसिंह ऐरी र यज्ञमान कुमालले दुई–दुई तथा अमरसिंह रौटेला, भुवन कार्की र शरद भेसावकरले एक–एक विकेट लिए ।
कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ तथा उपबिजेताले नगद दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०–२० हजार र प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछन् ।