नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा दुई साताअघि नियुक्त भएका उमेश पटवालले बिहीबारदेखि औपचारिक रूपमा काम थाल्दैछन्।
आगामी महिना सिंगापुरमा हुने टी-२० विश्वकपको एसिया छनोटका लागि पटवालले बिहीबारदेखि नेपाली टिमको प्रशिक्षण सुरू गर्न लागेका हुन्।
पटवाल नेपाली क्रिकेटमा जोडिएको एक वर्ष बढी भइसकेको छ। २०७४ फागुनमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटका लागि पहिलो पटक उनी नेपाली टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनेका थिए। सो भ्रमणमा नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएका थियो।
त्यस्तै केही महिनाअघि युएईविरूद्धको एकदिवसीय सिरिज र टी–२० सिरिजमा पनि पटवाल कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक थिए।
मासिक ७ हजार डलर (७ लाख ८२ हजार रूपैयाँ) तलबमा पाउने पटवालले २०२० को जुन १० सम्मका नेपाली टिम हेर्ने सम्झौता छ।
मुम्बईका पटवालसँग यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर काम गरेको अनुभव छ। सन् २०१४ को टी–२० विश्वकप र २०१४ को एसिया कपमा पटवाल अफगानिस्तानको ब्याटिङ प्रशिक्षक थिए। त्यसपछि उनले अफगानिस्तानको घरेलु लिगमा प्रशिक्षक भएर काम गरे।
साउन ६ देखि सिंगापुमार हुने टी-२० विश्वकप छनोटमा पटवालले पहिलो पटक नेपाली राष्ट्रिय टोली प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्।
उक्त प्रतियोगितामा नेपालको तयारीलगायत समग्र नेपाली क्रिकेटको विषयमा सेतोपाटीका सीताराम कोइरालाले पटवालसँग गरेको कुराकानीको सम्पादीत अंश:
नेपाली क्रिकेटमा जोडिनुभएको एक वर्षपछि प्रमुख प्रशिक्षक बन्नुभएको छ। नेपाली क्रिकेटको विकास लागि कस्ता योजना बनाउनुभएको छ?
नेपाली क्रिकेटको विकासको विषयमा कप्तान पारस खड्कासँग कुराकानी गरिरहेको छु। केही प्रतिभा खोज्ने विषयमा कुराकानी भइरहेको छ। अहिले हाम्रो पहिलो प्राथमिकता सिंगापुरमा हुने टी-२० विश्वकपको छनोट हो। त्यहाँबाट फर्किएपछि प्रतिभावान् खेलाडी खोज्नेतर्फ लाग्छौं।
पछिल्ला केही वर्षमा नेपालमा धेरै क्रिकेट प्रतियोगिता भएका छैनन्। केही राम्रा खेलाडीले अवसर पाउन सकेका छैनन्। हामी विभिन्न स्थानमा गएर २-३ दिनको क्याम्प राख्छौं। त्यहाँबाट नयाँ र युवा प्रतिभा छान्न कोशिश गर्छौं।
एक वर्ष नेपाली क्रिकेट नजिकबाट बुझ्नुभयो। अहिलेको नेपाली क्रिकेटको अवस्था कस्तो छ?
क्रिकेटमा पर्याप्त प्रतिस्पर्धा हुन सकिरहेको छैन। प्रतिस्पर्धात्मक प्रतियोगिता हुन जरूरी छ। अर्कोतर्फ क्रिकेट विकासको पर्याप्त योजना पनि छैन। नेपाली क्रिकेटमा योजना खड्किरहेको छ।
जस्तो, हामी टी-२० विश्वकप छनोटका लागि गइरहेका छौं। त्यसअघि हाम्रा खेलाडीले प्रधानमन्त्री कप खेले जुन एकदिवसीय प्रतियोगिता हो। एक फर्म्याटबाट अर्को फर्म्याट तुरून्त परिवर्तन गरेर खेल्नु पर्ने अवस्था छ। यसले नेपालको टिम बलियो बनाउन सहयोग पुग्दैन।
एक वर्ष नेपालको ब्याटिङ प्रशिक्षक बन्नुभयो। खासमा नेपालको ब्याटिङ कमजोर हुनुको कारण के रहेछ?
अहिले ब्याटिङ कमजोर छ भन्दिनँ। हामी सुधार गरिरहेका छौं। तपाईं अन्तर्राष्ट्रिय क्रिकेटर हेर्नुहुन्छ भने सबैले आफूलाई विकास गरिरहेका छन्। सुधार गरिरहेका छन्।
हामीले पनि माथि उठ्न कोशिश गरिरहनुपर्छ। कोही खेलाडी टिममा पर्छ भन्ने पहिलो रोजाइमा पर्न उसले मिहिनेत गर्नुपर्छ। त्यसपछि टिमको उत्कृष्ट खेलाडी बन्ने प्रयत्न गर्नुपर्छ। अनि अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडी बन्न लाग्नुपर्छ।
यस्तै मनस्थिति नेपाली खेलाडीले पनि राख्नुपर्छ। निरन्तर क्षमता अभिवृद्धि गरिरहनुपर्छ। एक पटक राष्ट्रिय टिममा परेपछि आफूलाई ‘म्याच विनर’ खेलाडी बनाउनुपर्छ। यदि तपाईं ‘म्याच विनर’ बन्न सक्नुहुन्छ भने अन्तर्राष्ट्रिय स्तरमा सहज रूपले प्रतिस्पर्धा गर्न सकिन्छ। यस्तो विकास नेपाली क्रिकेटमा जरूरी छ।
केही वर्षअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर काम गर्न भएको थियो। अहिले नेपाली क्रिकेटमा आवद्ध हुनुभएको छ। नेपाल र अफगानिस्तान क्रिकेटमा के फरक पाउनुभयो?
अफगानिस्तान र नेपाली क्रिकेट बिल्कुल फरक अवस्थामा छन्। यिनीहरूको क्रिकेट फर्म्याट नै फरक फरक छ। क्षमता र विकासको अवस्था फरक छ। शारिरीक अवस्था पनि भिन्न छ। दुबै टिमका बलियो र कमजोर पक्ष छ। कमजोर पक्ष सुधार गर्न र बलियो पक्षलाई अझ बलियो बनाउन जरूरी छ।
नेपालको बलियो पक्ष भनेको खेलाडी क्षमतावान् छन्। नेपाली खेलाडी स्ट्राइक परिवर्तन गरेर ब्याटिङ गर्न सक्छन्। ‘रनिङ बिटविन द विकेट’मा नेपाली खेलाडी सिपालु छन्। अफगान टिममा बिग हिटर छन्। उनीहरु निर्धक्क भएर खेल्न सक्छन्।
क्यान निलम्बनको अवस्थामा नेपाली क्रिकेटको प्रशिक्षक भएर काम गर्न कतिको गाह्रो छ?
क्यानको विषयमा के भइरहेको छ म केही भन्न सक्दिनँ। म नेपाली क्रिकेट टिमको विषयमा चिन्तित छु। टिमको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा योजना बनाइरहेको छु। क्यान नहुँदा खेलाडीलाई सुविधा दिने विषयमा बढी केन्द्रित हुनपर्छ। तर मलाई काम गर्न अप्ठ्यारो छ भन्ने लाग्दैन। मैले धेरै अप्ठ्यारा परिस्थितिमा काम गरिसकेको छु।
खेलाडीसँग राम्रो किट्स (क्रिकेट सामग्री) हुनु महत्वपूर्ण कुरा हो। किट्स राम्रो भएमा उनीहरू सिक्नका लागि झन् उत्साही हुन्छन्। खेलाडीका लागि चाहिने सुविधाका विषयमा केही समस्या हुन सक्छ। जस्तै, मैदानको समस्या हुन सक्छ। किट्स दिन आइसिसीले सहयोग गर्छ भन्ने लाग्छ। त्यसैले धेरै चिन्ता लिएको छैन। मेरो चिन्ता नेपाली क्रिकेटलाई एक वर्षमा कसरी विकास गर्न सकिन्छ भन्नेमा छ।
पर्याप्त प्रतियोगिताबिना नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। यस्तो अवस्थामा टिम बनाउन कत्तिको गाह्रो छ। खेलाडी छनोटको आधार के कुरालाई बनाउनुभएको छ?
स्थानीय प्रशिक्षक र खेलाडीको सहयोग लिरहेको छु। सिनियर खेलाडीको पनि सुझावको आधारमा टिम बन्छ। म यहाँ आएको एक वर्ष भयो। पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा प्रत्यक्ष संलग्न भएर काम गर्ने अवसर पाएँ। मैले अधिकांश खेलाडीको खेल हेरेको छु। यस्तै प्रधानमन्त्री कप पनि हेरें। एक वर्षमा मैले नेपालको बलियो र कमजोर पक्ष केलाइसकेको छु। सुधारका लागि के गर्नुपर्छ भन्ने पनि थाहा भइसकेको छ। त्यसैले मलाई केही सजिलो पनि छ।
नेपालको राष्ट्रिय टिमलाई बलियो बनाउन के गर्नुपर्छ होला?
यसका लागि नयाँ प्रतिभावान् खेलाडी छान्न जरूरी छ। उनीहरुलाई टिममा सेट गराउनुपर्छ। सेटअपबारे बुझ्न एक वर्षजस्तो लाग्छ। यस्तै नियमित तालिका, प्रशिक्षण शैली र सोचाइ परिवर्तन गर्नुपर्छ। हामीले एउटा संरचना बनाउन सक्यौं भने केही वर्षमा नतिजा पाउँछौं। यस्तो संरचना तयार पारेर मैले एक वर्षमा टिम छाडें भने पनि नेपालले राम्रा क्रिकेटर पाउन सक्छ।
टी-२० विश्वकप छनोटको तयारी कसरी गर्दै हुनुहुन्छ?
बिहीबारदेखि बन्द प्रशिक्षण सुरू गर्छौं। नेपालमा एक साता तयारी गरेपछि वैदेशिक प्रशिक्षणमा जाने योजनामा छौं।
पहिलो चरणमा २५ खेलाडी अभ्यासमा सहभागी हुनेछन्।
त्यसपछि हामी मलेसियामा दोस्रो चरणको तयारी गर्ने योजनामा छौं। एक साता मलेसियामा तयारी गरेपछि सिंगापु जान्छौं।
टी-२० छनोटमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी छन्। नेपालको रणनीति कस्तो हुन्छ?
हामी कसैलाई पनि कमजोर मान्दैनौं। कमजोर टिमसँग खेल्दैछौं भन्ने मनस्थिति लिएर जादैनौं। प्रतियोगिताबाट के सिक्न सक्छौं भन्ने सोचेर सिंगापुर जानेछौं। किनकी एक खेलको नतिजाले हामीलाई असफल र हानी पुर्याउन सक्छ। हामी यतिकै केही कुरा लिन चाहँदैनौ। त्यसैले अरूको कमजोरीभन्दा आफ्नो राम्रो योजना बनाउनुपर्छ।
क्रिकेटलाई दिमागको खेल पनि भनिन्छ। नेपाली खेलाडीको मनस्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ?
म सधैं तयारीमा विश्वास गर्छु। तर नेपालको तयारी सधैं कमजोर हुने गर्छ। संरचना, क्रिकेट संस्कृति र मनस्थितिले नेपाली क्रिकेटलाई असर गरिरहेको छ। अहिले नै पूरै क्रिकेट संस्कृति परिवर्तन हुन्छ र गर्नुपर्छ भन्ने लाग्दैन। तर हामीले सुरूवात भने गर्न जरूरी छ। हामी ३ देखि ६ महिनामा मनस्थितिमा पनि परिवर्तन ल्याउन कोशिश गर्छौं।
अहिलेको नेपाली टिमको बलियो र कमजोर पक्ष के हो?
अहिले प्रतियोगिता खेल्न गइरहेका छौं। राम्रो तयारी कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छु। सिंगापुरमा हामीले राम्रो खेलेर विश्वकप छनोटमा पुग्न कोशिश गर्छौं। अहिले कमजोर र बलियोभन्दा पनि राम्रो टिम बनाउन केन्द्रीत छौं।
प्रशिक्षक हुँदा कस्तो अवस्थामा अप्ठ्यारो हुन्छ? के कुराले राम्रो प्रशिक्षक बनाउँछजस्तो लाग्छ?
यदि तपाई राम्रो व्यक्ति हुनुहुन्छ भने राम्रो प्रशिक्षक पनि बन्नुहुन्छ। मानिसका लागि राम्रो काम गर्न सकें भने म राम्रो प्रशिक्षक बन्नसक्छु। मैल जीवन के हासिल गरे भन्ने कुरा र राम्रो प्रशिक्षकबीच कुनै सम्बन्ध छैन।
भावशून्य हुनुपर्ने क्षण नै प्रशिक्षक हुँदाको अप्ठ्यारो अवस्था हो। कहिलेकाहीँ हार्दा पनि भावनात्मक हुन पाइँदैन। यस्तै जित हात पारेको अवस्थामा औधी खुसी हुन पाइँदैन। अझ म भावनात्मक व्यक्ति हुँ। प्रशिक्षक हुँदा भावशून्य हुनु पर्दा गाह्रो हुन्छ। टिमले राम्रो खेलिरहेको छ भने खुसी छु भनेर देखाउन पाइँदैन। टिम पराजित हुँदा खेलाडीसँग दु:खी छु भनेर देखाउनु हुँदैन।
सबै तस्बिरहरू : निशा भण्डारी/ सेतोपाटी