सोमपाल कामी अहिले नेपाली क्रिकेट टिमका भरपर्दा तीव्र गतिका बलर हुन्।
टिममा अनुशासित र मेहनती खेलाडीको छवी बनाएका सोमपालले राष्ट्रिय टिममा डेब्यू गरेको पाँच वर्ष नाघिसकेको छ।
२०१४ को फेब्रुअरीमा विश्वकप छनोटअन्तर्गत न्युजिल्यान्डमा भएको प्रतियोगितामा युएईविरूद्धको खेलमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले नेपाली राष्ट्रिय टिममा नियमित स्थान बनाइरहेका छन्।
सोमपाल नेपालका लागि एकदिवसीय खेलमा पाँच विकेट लिने एक्ला बलर हुन्।
उनले गत वर्ष युएईविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा ५ विकेट लिएका थिए। सोमपालको नाममा टी-२० खेलको दशौं नम्बरमा सर्वाधिक रन बनाउने विश्व रेकर्ड पनि छ। उनले हङकङविरुद्धको खेलमा दशौं नम्बरमा ब्याटिङ गरेर ४० रन बनाएका थिए।
पाँच वर्षको बीचमा राष्ट्रिय टिमका लागि महत्वपूर्ण योगदान दिएका सोमपालको अन्तर्राष्ट्रिय टी-२० फ्रेन्चाइज लिग खेल्ने उनको धोको भने बल्ल पूरा हुँदैछ। बिहीबार सोमपाल क्यानडाको ग्लोबल टी-२० मा आवद्ध भएका छन्।
उनलाई विनिपेग हक्सले ३ हजार अमेरिकी डलरमा किनेको हो।
लिगमा नेपालका स्टार बलर सन्दीप लामिछाने पनि आवद्ध भएका छन्। लगातार दोस्रो सिजन ग्लोबल टी-२० खेल्न लागेका सन्दीपलाई टोरन्टो नेसन्सले ६० हजार डलरमा किनेको छ।
सन्दीप गत वर्ष ४० हजार डलरमा मोन्टेरियल टाइगर्समा आबद्ध भएका थिए। ग्लोबल टी-२० लिग आगामी २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानडामा हुनेछ।
सोमपाल पहिलो विदेशी फ्रेञ्चाइज लिगमा आवद्ध भए पनि पहिलो पटक विदेशी क्लबका लागि खेल्न लागेका भने होइनन्।
यसअघि सोमपालले सन् २०१५ मा श्रीलंकाको पहिलो श्रेणीको क्रिकेट खेलेका थिए। तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेको पहलमा सोमपाल सोमपाल सारासेन्स आवद्ध भएका थिए।
सोमपाल गत वर्ष पाकिस्तान सुपर लिगको ड्राफ्टमा भने परेका थिए। तर उनलाई कुनै पनि टोली भित्र्याएन। गत महिना क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा पनि सोमपाल, सन्दीप, रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी परेका थिए। तर सन्दीप मात्र बिक्री भएका थिए।
नेपाली राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपालको बल्यकाल भारतको पञ्जाबमा बितेको थियो। बुबा पञ्जावमा कामका लागि पुगे पछि सोमपाल पनि उतै गएका थिए। त्यहाँ ठूलो दु:खले क्रिकेट सिकेका सोमपाल सन् २०१३ को अन्त्यमा नेपाल आएका थिए।
क्रिकेटर अर्जुन अधिकारीको सम्पर्कमा नेपाल आएका सोमपालले पहिलो पटक नेपाल क्रिकेट फ्यान क्लबबाट खेल्ने मौका पाएका थिए। उनले फ्यान क्लबको पहिलो खेलमा डिल्लीबजार क्लबविरुद्ध खेल्दै २ विकेट लिँदा ४६ रन पनि बनाएका थिएl
फ्यान क्लबाट यु-१९ जिल्ला छनोट खेलेका सोमपालले क्षेत्रीय छनोटमा काठमाडौंबाट खेल्ने अवसर पाए। क्षेत्रीय छनोटमा उनी उत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यान मात्र भएका थिए। क्षेत्रीय प्रतियोगितापछि सोमपालले काठमाडौंबाट यु-१९ राष्ट्रिय प्रतियोगिताको छनोट खेले। नुवाकोट र भक्तपुरविरूद्ध लगातार सतक प्रहार गरेपछि सोमपालको चर्चा चुलिएको थियो। उनको सतक भलै जिल्ला स्तरिय प्रतियोगिता थियो, चर्चा राष्ट्रिय स्तरमा भयो। सोमपालको खेलबारे तत्कालीन प्रशिक्षक दासानायकेले पनि चासो देखाए।
जिल्ला छनोटमा उत्कृष्ट खेलपछि सोमपालले काठमाडौंको प्रतिनिधित्व गरेर यु-१९ राष्ट्रिय प्रतियोगिता खेले। उनले सेमिफाइनलमा जनकपुरविरुद्ध ६८ रन बनाए र ४ विकेट लिए।
विरगञ्जविरूद्धको फाइनलमा ३ विकेट लिएर काठमाडौंलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिए। त्यसपछि सोमापल यु-१९ एसिया कप तथा जर्नी टु वर्ल्डका लागि घोषणा गरिएको नेपालको राष्ट्रिय टिममा परेका थिए।
सोमपाललाई जर्नी टु वर्ल्ड कप क्रिकेट प्रतियोगितमा पहिलो पटक नेपाली टिमबाट खेल्ने अवसर प्रदान गरिएको थियो।
विश्वकप छनोटको तयारीका लागि आयोजना भएको प्रतियोगिता अनौपचारिक थियो। उनले प्रतियोगितामा ४ खेलमा १० विकेट लिएका थिए। त्यही प्रतियोगिताको आधार मान्दै सन् २०१३ को डिसेम्बरमा घोषणा गरिएको राष्ट्रिय टिममा सोमपालले पहिलो पटक स्थान पाएका थिए।
अलराउन्डर भएर चर्चित बनेका सोमपाललाई राष्ट्रिय टिममा भने तीव्र गतिका बलरको रूपमा स्थान दिइएको थियो। किनकी त्यतिबेला नेपालकी टिमको तीव्र गतिको बलिङ राम्रो थिएन। प्रशिक्षक पुबुदु दासानायकले तीव्र गतिको बलिङमा थप मिहिनेत गर्न सुझाव दिएको सोमपालले अहिले पनि बिर्सेका छैनन्।
सन् २०१४ जनावरी १३ मा राष्ट्रिय टिममा डेब्यू गर्दा सोमपालले ओपनिङ बलरको जिम्मेवारी पाएका थिए। युएईविरुद्धको सो खेलमा सोमापालले विकेट लिन भने सकेनन्। उनले ७ ओभर बलिङ गर्दा ३८ रन खर्चिएका थिए। स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा भने उनले ३ विकेट लिए। सो प्रतियोगितामा सोमापालले ६ खेलमा ८ विकेट लिए।
त्यसपछि सोमपालले पछाडि फर्केर हेर्नु परेको छैन। नेपाललाई डिभिजन-३ देखि एकदिवसीय मान्यता दिलाउन सोमपालले दर्जनौ पटक विपक्षी खेलाडीलाई पेभिलियन फर्काइसकेका छन्। नेपालले पहिलो पटक टी-२० विश्वकप तथा एकदिवसीय खेल खेल्दा सोमपाल टिमका महत्वपूर्ण सदस्य थिए। सोमपालले अहिलेसम्म नेपालका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै १३ विकेट, १५ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १७ विकेट लिइसकेका छन्। यस्तै सोमपालले नेपालका लागि ४३ लिस्ट ए खेल्दा ६५ विकेट लिएका छन्।