गत असोजमा मलेसियामा भएको टी-२० विश्वकप छनोट एसिया समूह ‘बी’ को विजेता बनेर स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेपालको प्रशिक्षण शैलीप्रति गम्भीर प्रश्न उठाएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारलाई प्रतिक्रिया दिँदै भनेका थिए, ‘नेपालको प्रशिक्षणको शैली र प्रशिक्षण टोलीमै पनि परिवर्तन आवश्यक छ। अहिलेको अवस्थामा भन्दा सुधारको खाँचो छ। इमान्दार भएर भन्नुपर्दा हामीले परिवर्तन नगर्ने हो भने आउने दिन कठिन हुनेछ।’
पारसको त्यो प्रतिक्रिया ९ महिनासम्म भनाइमै सीमित रह्यो। यसबीचमा नेपाली खेलाडीले घरेलु टी-२० फ्रेञ्चाइज लिगसहित प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता खेले। यस्तै नेपालले युएईविरुद्ध ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्यो।
दुबै सिरिज नेपालले २-१ ले आफ्नो पक्षमा पारेको थियो।
तर नेपाली टिमको प्रशिक्षण शैली र प्रशिक्षण टोलीमा कुनै परिवर्तन भएको थिएन।
गत महिना नेपाली टिमको प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएसँगै भने प्रशिक्षण शैलीमा परिवर्तनको छनक देखिएको छ।
भारतको आइपिएल टिमदेखि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक रहिसकेका पटवाल पछिल्लो एक वर्ष नेपाली क्रिकेटलाई नजिकबाट नियालेका थिए।
२०७३ फागुनमा नेपालको ब्याटिङ प्रशिक्षक बनेका पटवालले गत महिना प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएसँगै प्रशिक्षण शैलीमा परिवर्तन गर्ने संकेत दिएका छन्।
आगामी महिना सिंगापुरमा हुने टी-२० एसिया कप क्रिकेट प्रतियोगिताका लागि गत एक साताअघिबाट तयारी थालेका पटवालले विशेषगरी नेपाली खेलाडीको फिटनेसमा ध्यान दिएका छन्।
नेपाली टिम अहिले बिहान ७ बजे नै कीर्तिपुरस्थित टियु मैदानमा प्रशिक्षणका लागि पुग्ने गरेको छ।
पुबुदु दासानायकेले नेपाली टिम छाडेपछि नेपाली टिम पहिलो पटक बिहानै ७ बजे नै प्रशिक्षणका लागि पुग्ने गरेको हो।
नेपालले सिंगापुरको टी-२० को छनोट अघि नेपालले एकदिवसीय प्रतियोगिता खेलेर जाँदैछ। जसले प्रशिक्षकले थप मिहिनेत गर्नु पर्ने देखिन्छ।
‘हामी टी-२० विश्वकप छनोटका लागि गइरहेका छौं। त्यसअघि हाम्रा खेलाडीले प्रधानमन्त्री कप खेले जुन एकदिवसीय प्रतियोगिता हो। एक फर्म्याटबाट अर्को फर्म्याट तुरून्त परिवर्तन गरेर खेल्नु पर्ने अवस्था छ। यसले नेपालको टिम बलियो बनाउन सहयोग पुग्दैन,’ पटवालको चिन्ता छ।
पटवाल नियमित प्रशिक्षण र व्यवस्थित खेल तालिकाबाट नेपाली टिमलाई बलियो बनाउन सकिने बताउँछन्।
भन्छन्, ‘नियमित तालिका, प्रशिक्षण शैली र सोचाइ परिवर्तन गर्नुपर्छ। हामीले एउटा संरचना बनाउन सक्यौं भने केही वर्षमा नतिजा पाउँछौं।’
आगामी साउन ६ देखि १२ गते सिंगापुरमा सम्म हुने छनोटमा नेपालसहित ५ टिम सहभागी हुनेछन्।
नेपाल, सिंगापुर, कुवेत, मलेसिया र कतारबीच प्रतिस्पर्धा हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा चल्नेछ। विजेता टिम ग्लोबल छनोटमा पुग्नेछ।
तुलनात्मक रूपमा नेपालका प्रतिद्वन्द्वी कमजोर छन्। तर प्रशिक्षक पटवाल प्रतिद्वन्द्वीविरूद्ध मैदान उत्रँदा विपक्षीलाई कमजोर आँक्ने भुल गर्ने छुट खेलाडीलाई दिने छैनन्। उनले सबै खेलाडीलाई हरेक प्रतिद्वन्द्वी प्रतिस्पर्धात्मक हुने खेलाडीलाई बुझाइरहेका छन्।
‘हामी कसैलाई पनि कमजोर मान्दैनौं। कमजोर टिमसँग खेल्दैछौं भन्ने मनस्थिति लिएर जादैनौं। प्रतियोगिताबाट के सिक्न सक्छौं भन्ने सोचेर सिंगापुर जानेछौं। किनकी एक खेलको नतिजाले हामीलाई असफल र हानी पुर्याउन सक्छ,’ पटवालको भनाइ छ।
उनी नेपालले राम्रो खेल्नेमा भने आत्मविश्वासी छन्। एक अनौपचारिक कुरामा उनले आफ्नो आत्मविश्वास व्यक्त गर्दै भनेका थिए, ‘युएईमात्र होइन अस्ट्रेलिया जान तयार हुनुहोस्।’
यसबाट नेपाललाई टी-२० विश्वकपमा पुर्याउने उनको आत्मविश्वास झल्कन्छ।
आगामी महिना सिंगापुरमा हुने प्रतियोगिताको विजेता भएमा नेपालले अक्टोबर २०१९ मा युएईमा हुने टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।
टी–२० विश्वकप छनोटमा जिम्बावेसहित अघिल्लो विश्वकप खेलेका ८ टिमले खेल्ने पक्का भइसकेको छ। क्षेत्रीय छनोट पार गर्ने बाँकी ६ टिम गरी १४ बीच विश्वकप छनोटमा प्रतिस्पर्धा हुनेछ।
छनोटमा शीर्ष ६ स्थानमा परे नेपालले टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालले विश्वकप खेल्न आगामी जुलाईमा सिंगापुरमा हुने प्रतियोगितामा च्याम्पियन र अक्टोबरमा हुने अन्तिम प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्नु पर्नेछ।