नेपालले आइसिसी टी-२० विश्वकप क्रिकेट खेल्ने अभियान गत वर्ष नै सुरु गरेको थियो। नेपाल गत असोजमा मलेसियामा भएको टी-२० विश्वकप एसिया छनोटको समूह ‘बी’ मा विजेता बनेर दोस्रो चरणमा पुगेको थियो।
१० महिनापछि नेपालले दोस्रो चरणको छनोट खेल्दैछ। आगामी साउन ६ देखि सिंगापुरमा हुने विश्वकप छनोट प्रतियोगितालाई नेपालले विश्वकप खेल्ने अभियानको महत्वपूर्ण खुड्किलोको रुपमा लिएको छ। किनकी सिंगापुरमा च्याम्पियन बने नेपालको टी-२० विश्वकपको विश्व छनोटमा पुग्नेछ। विश्व छनोटमा नेपालले आफूभन्दा बलिया टिमसँग खेल्नेछ। एसिया छनोटमा भने नेपालका प्रतिद्वन्द्वी तुलनात्मक रुपमा कमजोर छन्।
‘हामीसँग विश्वकप खेल्ने अवसर छ। त्यसको सुरुवात यो प्रतियोगिताबाट हुनेछ,’ नेपालका कप्तान पारस खड्का भन्छन्, ‘हामी उच्च वरीयताको टिम भएकाले हामीलाई दबाब छ। त्यसैले हामी कुनै पनि कुरालाई सहज लिने पक्षमा छैनौ। त्यहाँ गएर राम्रो खेल्नु पर्ने छ। कप्तानको रुपमा पनि धेरै जिम्मेवारी छ। त्यसपछि मात्र हामीले विश्वकप सपना देख्न सक्छौं।’
विश्वकप छनोट खेल्ने अन्तिम टिमको टुंगो नेपालले तीन साताअघि नै लगाएको छ। आइतबार नेपालले पारसको कप्तानीमा राष्ट्रिय टिम घोषणा गरेको छ। पछिल्ला वर्षमा नेपालले पत्रकार सम्मेलन गरेर राष्ट्रिय टिम घोषणा गरेको यो पहिलो पटक हो। नेपालका प्रशिक्षक उमेश पटवालले टिमलाई सेट बनाउन ३ साताअघि नै राष्ट्रिय टिम घोषणा गरेको जनाएका छन्।
सोमबार घोषणा गरेका टिममा नयाँ खेलाडीले स्थान पाएका छैनन्। यद्यपी शरद भेषवाकर र रोहित कुमार पौडेलले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। पछिल्लो पटक टिममा रहेका भीम सार्की र सन्दीप जोरा बाहिरिएका छन्। शरद चोटका कारण युएईविरुद्धको टी-२० सिरिजमा अनुपस्थित थिए। रोहित भने आइसिसी यु-१९ विश्वकप छनोटका कारण सिनियर टिमबाट खेल्न बञ्चित भएका थिए।
‘शरद अनुभवी खेलाडी हो। सबै खेलाडीलाई आ-आफ्नो जिम्मेवारी दिइएको हुन्छ। त्यो सबैले पूरा गर्नु पर्छ। हामी कुनै खेलाडी भन्दा पनि टिमको रुपमा अघि बढ्न चाहान्छौं। सबै खेलाडीलाई प्रेरणा दिन चाहन्छौं,’ कप्तान पारस भन्छन्।
नेपालका प्रशिक्षक पटवाल पनि शरदको विकल्प नभएको बताउँछन्। रोहित नेपालको भविष्य भएकाले टिममा फर्किएको पटवालको भनाइ छ।
‘रोहित यु१९ टिमका कप्तान पनि हुन्। भविष्यमा उनले टिमका लागि अझ राम्रो खेल्न सक्नेछन्,’ राष्ट्रिय टिमबारे प्रशिक्षक पटवाल भन्छन्, ‘उत्कृष्ट लयमा भएका खेलाडी छनोट गरेका छौं। प्रदर्शन मात्र नभएर खेलाडीको खेलप्रतिको भोकलाई पनि प्राथमिकतामा राखेका छौं। टिम भिज्न सक्ने खेलाडी टिममा परेका छन्।’
यसपटक पनि नेपालले ओपनिङमा परिवर्तन गर्ने संकेत दिएको छ। ‘ओपनिङमा हामीसँग धेरै विकल्प छ। त्यसका लागि हामी तयार छौं,’ कप्तान खड्का भन्छन्, ‘ओपनिङ गर्ने काम सजिलो त होइन। तर जसले अवसर पाउछ त्यसले पूरा गर्छ।’
अब एक साता प्रशिक्षण गरेपछि नेपाल आसार २४ गते मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा नेपालले १० दिन अभ्यास गर्नेछ। त्यसक्रममा नेपालले मलेसियासँग २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। पहिलो खेल असार २८ र दोस्रो खेल असार २९ गते हुनेछ।
‘बलिया टिमसँग खेल्ने हाम्रो योजना सफल नभएपछि हामीले अन्तिम विकल्पको रुपमा मलेसियामसँग सिरिज खेल्न लागेका हौं,’ कप्तान पारस भन्छन्, ‘तर सिरिजले हामीलाई फाइदा नै पुग्छ। मलेसिया र सिंगापुरको कन्डिसन लगभग उस्तै छ। हामीलाई कन्डिसनसँग भिज्ने अवसर हुनेछ।’
मलेसियासँग टी-२० सिरिज खेलेपछि नेपाल सिंगापुर प्रस्थान गर्नेछ। सिंगापुरमा नेपालले पहिलो खेल कतारसँग साउन ७ गते, मलेसियामा साउन ८ गते, कुवेतसँग साउन ११ गते र सिंगापुरसँग साउन १२ गते खेल्नेछ।
यो प्रतियोगितामा च्याम्पियन भएमा नेपाल विश्व छनोटमा पुग्नेछ। विश्व छनोट आगामी अक्टोबरमा युएईमा हुँदैछ।
टी–२० विश्वकप छनोटमा जिम्बावेसहित १४ टिमबीच विश्वकप छनोटमा प्रतिस्पर्धा हुनेछ। १४ टिम मध्ये शीर्ष ६ टिम आगामी वर्ष अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकपमा छानिनेछन्।
नेपाली टिम:
पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी,ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी