वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को उपाधि चितवन राइनोजले जितेको छ।
नेपालमा आयोजना भएको पहिलो महिला फ्रेञ्चाइज लिगको उपाधि जित्ने क्रममा चितवनले बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा ११२ रन जोड्यो।
चितवनका लागि ओपनर काजल श्रेष्ठले २१ रन र कञ्चन श्रेष्ठले १९ रनको योगदान दिए। ऋतु कनौजिया ६ रनमा आउट भइन्। सुमन खतिवडाले २५ बल ५ चौका प्रहार गर्दै २९ रन जोडिन्। कप्तान इन्दु वर्मा १९ बलमा नटआउट २२ रन जोडिन्।
बलिङमा काठमाडौंकी संगिता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १-१ विकेट लिए।
११३ रनको लक्ष्य पछ्याएको काठमाडौं ६७ रनमा अलआउट भयो। काठमाडौंका लागि अप्सरी बेगमले १५ रन जोडिन्। ममता थापा १३ रनमा आउट भइन्।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा चितवनकी सुमन खतिवाडाले ३ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडन राख्दा ११ रन मात्र खर्चिइन्। उनी खेलको प्लेयर अफ दि म्याच भइन्। ऋतु कनौजियाले पनि ३ विकेट लियन्। रेशा रावलले २ विकेट हात परिन्।
काठमाडौंकी कविता गौतम उत्कृष्ट बलर र चितवनकी काजल श्रेष्ठ उत्कृष्ट ब्याटर घोषित भए। काठमाडौंकी रुबिना क्षेत्री वुमेन्स अफ दि सिरिज हुँदै स्कुटर हात पारिन्।
विजेता चितवनले ७ लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेतालाई ३ लाख प्रदान गरियो।
उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही २५ हजार रुपैयाँ दिइयो।
प्रतियोगितामा पाँच शहरका पाँच टिमले प्रतिस्पर्धा गरेका थिए।