पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करणको च्याम्पियन चितवन राइनोजका दुई खेलाडीले टिभिएसको मोटरबाइक जितेका छन्।
चितवनका अलराउन्डर तथा युएईका कप्तान रोहन मुस्ताफा म्यान अफ दि सिरिज तथा फाइनलको प्लेयर अफ दि म्याच भए।
उनले प्रतियोगिताभर ६ खेलमा २०९ रन बनाउनुका साथै ६ विकेट लिए। सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका उनले तीन अर्धशतक बनाए। सर्वाधिक रन भने उपविजेता विराटनगर टाइटन्सका पुनित महेराले बनाए।
काठमाडौं गोल्डेन्स वारियर्स तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल उत्कृष्ट ब्याट्सम्यान घोषित भए। उनले ५ खेलमा एक शतकसहित २०१ रन जोडे। उनी सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा रहे। उनले एक्स्पर्ट धनगढी ब्लुजविरुद्ध शतक प्रहार गरेका थिए।
चितवनका करण केसी उत्कृष्ट बलर बने। उनले प्रतियोगितामा ६ खेलमा १४ विकेट लिए।
उत्कृष्ट भएका तीनै जनाले मोटरबाइक पाए।
यस्तै विराटनगरका लोकेश बमलाई मोस्ट भ्यालुएबल पुरस्कार प्रदान गरियो। उनले ५ खेलमा एक अर्धशतकसहित ९७ रन बटुले। बमलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरियो।
धनगढीका बलर अनिल खरेललाई इमर्जिङ प्लेयरको अवर्ड दिइयो। स्पिनर खरेलले ५ खेलमा ८ विकेट लिए। उनले ५० हजार रुपैयाँ पाए।