नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले त्रिकोणात्मक वान डे सिरिजबाट नयाँ खेलाडीहरू नियाल्न पाएको बताएका छन्।
नेपालले त्रिकोणात्मक सिरिजमा तीन खेलाडीलाई डेब्यु गराएको थियो।
बलिङतर्फ सुसन भारी र कमलसिंह ऐरीले डेब्यु गरेका थिए। त्यस्तै अलराउण्डर कुशल मल्लले पनि जारी प्रतियोगिताबाटै डेब्यु गरेका थिए।
सुसनले सिरिजमा ११ विकेट लिन सफल भए। त्यस्तै कुशल मल्लले अमेरिका विरूद्धको पहिलो खेलमा अर्धशतक प्रहार गरेका थिए। उक्त खेलमा उनले एक विकेट समेत लिएका थिए।
लगत्तै ओमन विरूद्धको दोस्रो खेलमा उनले २८ रन बनाएका थिए।
उक्त खेलमा कुशलले इकोनोमिक बलिङ गर्दै पूरै ओभर बलिङ गर्दा मात्र ३० रन दिएका थिए।
त्यस्तै, कमलसिंह ऐरीले ओमनविरूद्ध नटआउट ९ रन बनाए।
उनले आफ्नो पारीमा चौका प्रहार गर्दै कन्फिडेन्स प्रदर्शन गरेका थिए।
ज्ञानेन्द्रले सिरिजबाट नेपालले धेरै सिक्ने मौका पाएको बताए।
'हामीले ओडिआइ साइकलमा अझै धेरै गृहकार्य गर्न जरुरी छ', ज्ञानेन्द्रले भने, 'हामीले नयाँ उदयीमान खेलाडीहरू नियाल्ने मौका पायौं।'
उनले नेपाली खेलाडीहरूले व्यक्तिगत प्रदर्शन पनि सुधार गर्नुपर्ने बताए।
'ओमनसँग खेलमा हामीले जे भोग्यौं त्यसबाट कत्ति र के गर्न पर्छ भन्ने सोच बनिसकेको छ', ज्ञानेन्द्रले भने, 'हाम्रो बलिङमा पनि केही सुधार चाहिने देखिन्छ।
ओमनविरूद्ध दोस्रो खेलमा नेपालको ब्याटिङ चलेको थिएन।
'कस्तो ब्याट्सम्यानलाई कस्तो प्रकारको बल्ल फ्याक्ने भन्ने कुरा अझै सिक्न जरुरी छ', ज्ञानेन्द्रले भने।
नेपालले त्रिकोणात्मक सिरिजले अमेरिका विरूद्धको दुवै खेलमा जित हात पारे पनि ओमन विरूद्धका दुवै खेल गुमाएको थियो। अन्तिम खेलमा नेपालले आज अमेरिकालाई ८ विकेटले पराजित गरेको छ।