खेल्न मन हुन्थ्यो तर टाढाको धारामा पानी लिन जानुपर्थ्यो। खेल्न मन हुन्थ्यो तर गाईवस्तु नचराइ हुन्नथ्यो।
बैतडीको दशरथ चन्द नगरपालिका-४ सुन्दरघरकी जानकी भट्टको बाल्यकाल काम र खेलको तालमेल मिलाउँदै बित्यो।
अहिले उनी महिला क्रिकेटरको रूपमा परिचित छन्। जम्मा ११ वर्ष उनले नेपाली क्रिकेटलाई दिएकी हुन्। क्रिकेट खेल्ने धोको पूरा नहुँदै उनले क्रिकेट खेल्न छोड्नु परेको छ।
अहिले उनी आफ्ना दाजुसँग मिलेर डेरी चलाउँछिन्। फुर्सदमा क्रिकेटर बन्न चाहने बालिकाहरूलाई सिकाउँछिन्।
भट्टले यस वर्षको प्रधानमन्त्री कपमा सुदूरपश्चिम टिमको प्रशिक्षकका रूपमा काम गरेकी थिइन्। गएको वर्ष त पिएम कपमा कप्तानी सम्हालेकी उनको टोली विजेता नै भएको थियो।
अहिले क्रिकेट सिक्न चाहने केटीहरूका लागि परिवारको सहमतिदेखि खेल सामग्रीसम्मको सुविधा छ।
उनले क्रिकेट सिक्दा यस्तो सुविधा थिएन।
‘गाईबाख्रा चराउन वनमा जाँदा क्रिकेट सिकेकी हुँ,’ उनले सम्झिइन्।
छोरीले पढ्नु हुन्न भन्ने मान्यता रहेको समाजमा झन् खेल्न त परको कुरा थियो।
बाख्रा पालेर, भैंसीको दूध बेचेर, कसैको सामान बोकेर कमाएको पैसाले उनकी आमाले छोराछोरी हुर्काउनु पर्थ्यो। उनीहरूले आमालाई सघाउनु पर्ने।
उनका दिदीहरूको कक्षा ९ र ७ मा पढ्ने बेला नै विवाह भयो। दाइ १२ कक्षा पढेपछि कमाउन भारत गए।
जानकी कान्छी छोरी भएकाले घरमै थिइन्। आमालाई सघाउन पनि उनी एक्लै भइन्। बिहान-बेलुका काम गर्ने र दिउँसो स्कुल जाने गर्थिन्।
उनी सानैदेखि स्कुलका शुक्रबारीय कार्यक्रममा हाइजम्प, एथलेटिक्स, दौडमा भाग लिने गर्थिन्।
‘मलाई खेलप्रति धेरै रूची भएकाले खेलमा जहाँ पनि सहभागी हुन्थें,’ उनले भनिन्।
कक्षा ८ मा पढ्ने बेलासम्म उनले भलिबल खेल्थिन्। स्कुलको वार्षिक उत्सवमा भलिबल प्रतियोगता हुन्थ्यो। उनले भाग लिन्थिन्। भलिबलमा उनी अब्बल थिइन्। तर धेरै समय खेलिनन्।
‘भलिबलमा हाइट चाहिन्छ, मेरो हाइट कम भएकाले पछि खेल्न छोडें,’ उनले भनिन्।
गाउँमा केटाहरूले क्रिकेट खेलेको देखेपछि उनको ध्यान क्रिकेटतर्फ मोडियो।
गोठालो गएका बेला अरूले खेल्दा डाँडामा बल जानबाट रोक्ने उनी बिस्तारै खेल्न पनि थालिन्।
केटीहरू नभएपछि केटासँगै खेल्दै उनले क्रिकेट सुरू गरेको बताइन्।
‘पानी लिन धारामा जाने निहुँले स्कुलको चौरमा भाइसँग क्रिक्रेट खेल्न पुग्थें, लुकिछिपी काठको टुक्रा र कपडाबाट बनेको बल प्रयोग गरी भाइहरूलाई फाल्न भन्दै ब्याटिङ सिकें,’ उनले भनिन्।
यसरी उनी गाउँकै केटाहरूसँग क्रिकेट खेल्न थालिन्।
जानकी जिल्लाबाट राष्ट्रिय स्तरमा खेल्न चाहन्थिन्।
‘उ बेला खेलप्रति महिलाहरूलाई रूची थिएन, घरबाट पनि खेल्न दिँदैनथे, सुरूमा टिम बनाउन पनि गाह्रो भयो,’ उनले भनिन्।
क्रिकेट खेल्दै जाँदा धेरै कुरा थाहा भयो। अरू ठाउँमा खेल्ने केटीहरूसँग सम्पर्क भयो। बैतडीका क्रिकेट खेलाडीले केटीहरूको पनि टिम बनाउन खोजेछन्। उनले खेल्न सक्छिन् भन्ने थाहा भएपछि बोलाए।
राष्ट्रिय टिममा खेल्न भन्दै उनीसहित १६ जनाको टिम बन्यो। यो क्षेत्रीय प्रतियोगिताका लागि थियो।
उनीहरूलाई खेलाडी दीपेन्द्र चन्द र क्यानका अध्यक्ष चतुर चन्दले ट्रेनिङ दिने भए। नगरपालिका नै भए पनि उनको घर बजारदेखि टाढा थियो।
घरबाट घन्टौं हिँडेर ट्रेनिङमा जानुपर्थ्यो। यत्रो हिँडेर छोरी खेल्न गएको कसैलाई मन पर्दैनथ्यो। घरबाट अरूले पनि किन खेल्नुपर्यो यस्तो दु:ख गरेर नखेल भन्न थाले। उनले आमालाई सम्झाइबुझाइ गरिन्।
एक महिनासम्म ट्रेनिङ लिएपछि क्रिकेटका आधारभूत नियम उनलाई थाहा भयो। डडेल्धुरामा राष्ट्रिय खेलका लागि क्षेत्रीय छनौट प्रतियोगिता भयो। त्यहाँबाट उनीसहित विभिन्न जिल्लाका ८ जना राष्ट्रिय प्रतियोगिताका लागि छनौट भए।
क्षेत्रीय छनौटमा आमालाई सम्झाइबुझाइ गरेर खेल्न आएकी उनलाई फेरि राष्ट्रिय खेल्न काठमाडौं जानु पर्ने भयो।
आमाले काठमाडौं नपठाउने कुरा गरिन्।
'गाउँमा कुरा काट्न थालेका छन्, छोरी धेरै घुम्छे भनेर,' आमाले सुनाउँथिन्, 'परेको छैन कतै जान।'
जानकीलाई जसरी पनि खेल्नु थियो। आमाले नपठाए पनि उनी हिँडिन्। घरबाट टीका नलगाएरै निस्केकी उनलाई सुरूमा त टिमलाई आफैंले हराउने हुँ कि भन्ने पनि लाग्थ्यो। १६ वर्षे किशोरीको मन न हो अनेक कुरा सोच्थ्यो। खेल्न पाएकामा मन फुरूङ्ग पनि थियो।
कीर्तिपुरमा भएको प्रतियोगितामा उनी अलराउण्डरको रूपमा परिचित भइन्। उनको टिमले जित्यो।
‘मलाई त धेरै खुसी लागेको थियो। साथीहरू केही डराएका पनि थिए, अरूभन्दा हाम्रो टिम राम्रो थियो त्यही कारणले हामीले जित्यौं पनि,’ उनले भनिन्।
उनको टिमले ट्रफी, प्रमाण पत्र र २० हजार नगद पुरस्कार जित्यो। जानकी उक्त प्रतियोगितमा 'म्यान अफ द म्याच' घोषित भएकी थिइन्। १० दिनपछि प्रतियोगिता सकेर उनी घर फर्किन्। बाटोमा आउँदा आउँदै उनलाई अन्तर्राष्ट्रिय स्तरको खेलका लागि छनौट भएको खबर आयो। यो खबर सुनेर उनी खुसीले उफ्रिएकी थिइन्।
घरमा पुग्दा रिसाएकी आमा पनि जितेका प्रमाण देखेपछि खुसी भइहालिन्। उनले देशबाहिर पनि खेल्न जाने टोलीमा छनोट भएको कुरा आमालाई सुनाइन्।
५ दिन घरमा बसेपछि फेरि उनी काठमाडौं जानु पर्ने भयो। यसपालि भने आमाको आर्शिवादसहित उनी घरबाट बिदा भइन्।
काठमाडौंमा १६ दिन क्याम्प भयो। विदेशमा खेल्न जान सबै तयारी पूरा भयो। तर, विदेश खेल्न जाने टोलीबाट उनको नाम हटाइएको थियो।
त्यो खबर सुनेपछि उनी निरास भइन्। किन भयो यस्तो भनेर सोध्दा तिमी बिरामी हुन्छौ त्यही भएर भन्ने जवाफ आयो।
‘म कहिलेकाहीँ बेहोस् हुन्थें, तर गेम खेल्नेबेला भने केही समस्या हुन्थेन, मैले यो कुरा कोचलाई भनेको थिइनँ। साथीहरूबाट उहाँले थाहा पाएपछि नाम हटाइएको रहेछ,’ उनले भनिन्।
उनी निरास हुँदै घर फर्किइन्।
त्यसपछि फेरि उनी पहिले जस्तै दैनिकीमा फर्किनु पर्यो। घरमा आमालाई सघाउने, मेलापात र क्याम्पस पढाइमा ध्यान दिन थालिन्।
एक वर्षपछि उनलाई फेरि अन्तर्राष्ट्रिय स्तरकै खेल खेल्ने अवसर आयो। यस पटक भने उनले मलेसिया गएर नै खेल्न पाइन्।
त्यहाँ नेपालको टिमले सेमिफाइनलबाट फर्किनु पर्यो।
‘मेरो व्यक्तिगत प्रदर्शन राम्रो भएकाले म त्यहाँ पनि म्यान अफ द म्याच भएकी थिएँ,’ उनले सम्झिइन्।
देशको लागि मेडल ल्याउन नपाउँदा खल्लो महसुस भने उनलाई भइरह्यो।
उनले त्यसपछि ११ वर्षसम्म निरन्तर क्रिक्रेट खेलिन्। पाँच वटा जति अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरिन्।
यतिन्जेल त अब पैसा कमाउने बेला भैसकेको थियो। घरबाट पनि छोरीले केही गरोस् भन्ने चाहन्थे। तर क्रिकेट खेलेर पैसा कमाइ हुन्नथ्यो।
‘क्रिकेट खेल्नु मेरो सपना थियो। खेलें पनि तर जीवन चलाउन पैसा चाहिन्छ खेलेर कमाइ हुन नसकेपछि मलाई घरबाट अब धेरै भयो क्रिकेट छोडिदिए हुन्छ भनेर भन्न थाले,' उनले भनिन्।
आर्थिक अवस्था कमजोर भएकाले उनले बीचमा अरू संघसंस्थामा काम गरिन्।
कामकै दौरानमा उनको एउटा खुट्टा भाँचियो। खुट्टा भाँचिएपछि उनले क्रिक्रेट खेल्न सक्ने कुरै भएन।
‘खुट्टा भाँचिएपछि पनि मलाई क्रिक्रेटको नसाले कहिल्यै छोडेन, खेल्न नसके पनि खेल्न चाहने केटीहरूलाई सिकाउँछु भन्ने छ,’ उनले भनिन्।
आफ्नो रहर अझै मरेको छैन। त्यसैले उनले केटीहरूलाई क्रिकेट सिकाउन थालिसकेकी छन्। दाइसँग मिलेर उनले अहिले धनगढीमा डेरी चलाउछिन् र फुर्सदको समय प्रशिक्षण गर्छिन्।
क्रिकेट खेल्न रहर गर्ने केटीहरू धेरै भए पनि यसमा लगानी गर्न भने अझै गाह्रो छ।
‘क्रिकेट धेरै महंगो गेम हो, क्रिकेट सिक्न नि:शुल्क भए पनि सामान उनीहरूसँग हुँदैन,’ उनले भनिन्।
प्रशिक्षण गराउँदा सामग्री नभएपछि उनले डेरीबाट पैसा चोरेर बल किन्नु परेको सुनाइन्।
‘डेरीमा दाइलाई नभनेर कयौं पटक पैसा चोरेरै पनि बल किनेर प्रशिक्षण गराउनु परेको छ,’ उनले भनिन्।
जिल्ला खेलकुद विकास समितिले करारमा जागिर दिएपछि गत वर्ष उनले प्रशिक्षण गराएबापत् मासिक तलब पाएकी थिइन्।
कोरोनापछि करार अवधि थप भएको छैन। उनको प्रशिक्षण दिने काम भने जारी नै छ।
‘मेरो खर्च धान्ने स्रोत अहिले डेरी नै हो। क्रिकेटप्रति मोह कम नभएकाले म अहिले पनि यस क्षेत्रमा लागिरहेकी छु,' उनले भनिन्।
खेल क्षेत्रमा नाम भए पनि दाम नहुँदा अहिले खेलाडी बन्ने सपना बोकेका केटीहरूले घरपरिवारबाट सहयोग नपाउने उनको भनाइ छ।
खेल र खेलाडीको विकास हुन नसकेका कारण खेल क्षेत्रमा जिन्दगी समर्पण गर्नेहरूलाई गाह्रो भएको उनले सुनाइन्।
‘मैले पनि जति सोचेको थिएँ क्रिकेटमा त्यति गर्न सकिनँ। अब खेल्न चाहनेहरूलाई सहयोग गर्नेछु,’ उनले भनिन्।