सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसीप-२०७७ टि २० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ।
शनिबार टियु मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ उपाधि चुम्न सफल भएको हो।
एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ३८ बलमा ५ चौकासहित ३६ रनको योगदान दिइन्। कप्तान सीता राना मगर ३२ बलमा ४ चौकासहित २७ रनमा आउट भइन्।
टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन सीमित भयो। एपिएफले १६.२ ओभरमा २ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गर्यो।
क्लबलाई जित दिलाउन उनको ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी कप्तान सीता राना मगर, ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि २० क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्।
प्रदेश-१ की कप्तान रुविना क्षेत्री बेलबासे प्रतियोगिताकी सर्वोत्कृष्ट ब्याट्सम्यान बन्न सफल भइन्।
यसैगरी, एपिएफकी बिनु बुढामगरले सर्वोकृष्ट बलरको उपाधि पाइन्। रुविनाले र बिनुले १५-१५ हजार प्राप्त गरे।
च्याम्पियन एपिएफले ३ लाख र उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार प्राप्त गरेका छन्।