मोहमद आसिफ शेखले शनिबार नेपाली राष्ट्रिय टिमबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन्।
त्रिदेशीय कप टी-२० क्रिकेट सिरिजअन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरूद्धको खेलमा आसिफले टी-२० मा डेब्यू गरेका हुन्।
ओपनिङ ब्याट्सम्यान आसिफले डेब्यू गरेको खेलमा एउटा संयोग बनेको छ।
टिममा उनका दाइ आरिफ शेख पनि छन्। टी-२० मा नेपालका लागि दाजुभाइले एउटै खेलमा खेलेको यो पहिलो पटक हो।
शेख दाजुभाइले पाँच वर्षअघि नेपालको एक दिवसीय टिमबाट पनि सँगै खेलेका थिए।
अलराउन्डर आरिफ सन् २०१४ देखि राष्ट्रिय टिमबाट खेल्दै आएका छन्। २३ वर्षीय आरिफले नेपालका लागि १० एक दिवसीय र १४ टी-२० खेल खेलिसकेका छन्।
उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरे पनि आसिफले राष्ट्रिय टिममा स्थान बनाउन संघर्ष गर्नुपर्यो।
आसिफले २०७३ सालमा भएको एभरेष्ट प्रिमियर लिगको फाइनलमा सनसनी मच्चाएका थिए। १६ वर्षे आसिफले पञ्चकन्या तेजका लागि खेल्दा फाइनल खेलमा शतक बनाएका थिए।
आसिफले १ सय ११ रन बनाएको खेलमा पञ्चकन्याले कलर्स एक्स फ्याक्टरलाई ४० रनले हराउँदै उपाधि जितेको थियो।
त्यसपछि चर्चामा रहे पनि आसिफले टी-२० मा डेब्यू गर्न पाँच वर्ष कुर्नुपर्यो।
शेख दाजुभाइ वीरगञ्जका हुन्। उनका बुबा मोहमद सलाम शेख पेसाले मेकानिकल ईन्जिनिनर हुन्। उनी वीरगन्जमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्छन्।
दाइ आरिफ सन् २०१४ मा यू–१९ राष्ट्रिय क्रिकेट टिममा पर्न सफल भएका थिए।
युएईमा भए एसिसी यू–१९ एसिया कपका लागि आरिफ छनोट भएका थिए। त्यतिबेला आरिफले मध्यक्रममा ब्याटिङ गर्दै पाकिस्तानविरूद्ध २५, भारतविरुद्ध ४० र यूएईविरुद्ध ४८ रन प्रहार गरे। यो प्रदर्शनले आरिफले सिनियर राष्ट्रिय टिमको ढोका खोलेका थिए।
भाइ आसिफ २०१७ मा नेपालको राष्ट्रिय टिममा परेका थिए। त्यतिबेला पनि आरिफ र आसिफ दुबै जनाले बंगलादेशमा भएको एसिसी इमर्जिङ नेसन्स कपमा प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगिता एक दिवसीय भए पनि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका यू-२३ टिमले भाग लिएका थिए।
शेख दाजुभाइले त्यतिबेला हङकङविरूद्ध सँगै खेलका थिए। सो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। खेलमा आसिफले ओपनिङ गर्दै ८ रन जोड्दा आरिफले बलिङ मात्र गरेका थिए। उनले पाँच ओभर बलिङ गर्दा विकेट लिन सकेका थिएनन्।
प्रतियोगितामा आसिफले राम्रो खेल्न सकेनन्। जसका कारण उनलाई राष्ट्रिय टिममा फर्कन चार वर्ष लाग्यो।
आरिफ र आसिफ नेपाली सिनियर राष्ट्रिय क्रिकेट टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने दोस्रा दाजुभाइ हुन्।
यसअघि विराटनगरका मञ्जित र युनिल श्रेष्ठको दाजुभाइ जोडीले पनि नेपाली राष्ट्रिय टिमबाट खेलेका थिए। श्रेष्ठ दाजुभाइले सन् २००२ मा हङकङमा भएको तीन दिवसीय प्रतियोगिता खेलेका थिए।
आरिफ २०७१ सालमा भएको राष्ट्रिय प्रतियोगिताबाट चर्चामा आएका थिए। त्यतिबेला क्षेत्र नम्बर २ वीरगन्जका आरिफले ६ खेलमा कुल दुई सय ६२ रन प्रहार गर्दै ११ विकेट लिएका थिए। जसका कारण तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले लगत्तै मलेसियामा भएको एसिसी प्रिमियर लिगका लागि आरिफलाई नेपाली टिममा छनोट गरेका थिए।
आसिफले नेपालको उमेर समूहमा यू-१६ र यू-१९ बाट खेले। सन् २०१६ को इमर्जिङ नेसन्स कपमा एकदिवसिय टिममा परेपछि आसिफ प्रारम्भिक टिममा पर्ने गरे पनि अन्तिम टिममा भने फालिने गरेका थिए।