त्रिदेशीय कप टी-२० क्रिकेट सिरिजमार्फत नेपाली राष्ट्रिय क्रिकेट टिम एक वर्षपछि मैदान फर्किएको छ। कोरोनाका कारण अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा ठप्प हुँदा नेपाली क्रिकेट टिम एक वर्ष प्रतियोगिताबिहीन बनेको थियो।
शनिबार १३ महिनापछि मैदान फर्कदा नेपालले सानदार जित निकाल्न सफल भयो। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकाल्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १३६ रन जोड्यो। जवाफी ब्याटिङ गरेको नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा सहज रुपमै लक्ष्य पार गर्यो।
नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले सानदार ब्याटिङ गरे। डेब्यू गरेका दुवैले अर्धशतक हिर्काए। कुशलले ४६ बलमा ६२ रन र आसिफले ३८ बलमा नटआउट ५४ रनको योगदान दिए।
नेपालका लागि टी-२० को डेब्यू खेलमा दुवै खेलाडीले अर्धशतक बनाएको यो पहिलो पटक हो।
यस्तै कुशल र आसिफबीच पहिलो विकेटका लागि ११६ रनको साझेदारी भयो। यो नेपालको टी-२० मा अहिलेसम्मकै ठूलो ओपनिङ साझेदारी हो।
यसअघि सर्वाधिक रनको ओपनिङ साझेदारीको रेकर्ड पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको नाममा थियो। उनीहरूले सन् २०१९ मा भुटानविरुद्ध १०८ रनको ओपनिङ गरेका थिए।
समग्रमा कुशल र आसिफको साझेदारी नेपालको दोस्रो सर्वाधिक साझेदारी बन्यो।
टी-२० मा सर्वाधिक रनको साझेदारी पारस खड्का र आरिफ शेखको नाममा छ। पारस र आरिफले सन् २०१९ मा सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि नटआउट १४५ रनको साझेदारी गरेका थिए।
शनिबार नेदरल्यान्ड्सविरुद्ध तथा सन् २०१९ मा भुटान र सिंगापुरविरुद्ध गरी नेपालले तीन पटक मात्र कुनै पनि विकेटका लागि शतकीय साझेदारी गरेको छ।
कुशल र आसिफबीच पहिलो विकेटका लागि भएको साझेदारी डेब्यू खेलाडीले बनाएको अहिलेसम्मकै सर्वाधिक ठूलो हो।
यसअघि डेब्यू खेलाडीबीचको साझेदारी ९० रनको थियो। मोजाम्बिकका कुवानो र कोसाले सन् २०१९ मा मलावीविरुद्ध उक्त कीर्तिमानी साझेदारी गरेका थिए।
कुशलले खेलमा अर्को कीर्तिमान बनाउन सफल भए। उनले बनाएको ६२ रन नेपालका लागि डेब्यू खेलाडीले बनाएको अहिलेसम्मकै सर्वाधिक रन हो।
यसअघि डेब्यू खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान सन्दीप जोराको नाममा थियो। जोराले सन् २०१९ मा युएईविरुद्धको डेब्यू खेलमा नटआउट ५३ रन जोडेका थिए।
शनिबार आसिफले जोरालाई पनि पछि पार्न सफल भए। आसिफले शनिबार ५४ रन जोड्दै डेब्यू खेलमा सर्वाधिक दोस्रो रन जोड्ने कीर्तिमान आफ्नो नाममा लेखाए।
शनिबार हात पारेको ९ विकेटको जित नेपालको ठूलो जित मध्येको एक हो। टी-२० मा नेपालले तेस्रो पटक ९ विकेटको जित हात पारेको हो।
यसअघि नेपालले सिंगापुरलाई सन् २०१९ मा र थाइल्यान्डलाई सन् २०२० मा ९ विकेटले हराएको थियो।
नेदरल्याण्ड्सविरूद्धको खेल नेपालका प्रशिक्षक डेभ वाटमोरका लागि पहिलो अन्तर्राष्ट्रिय खेल थियो। जुन खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेसँगै वाटमोरको सुरुवात पनि सुखद् बन्यो।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भूर्तेल, कुशल मल्ल, सन्दीप जोरा, साहब आलम, कमलसिंह ऐरी, सुसन भारी
खेल तालिका
वैशाख ४ नेपाल भर्सेस नेदरल्यान्ड्स दिउँस १:१५ बजे
वैशाख ५ नेदरल्यान्ड्स भर्सेस मलेसिया मध्यान्ह १२ :१५ बजे
वैशाख ६ नेपाल भर्सेस मलेसिया दिउँस १:१५ बजे
वैशाख ७ नेपाल भर्सेस नेदरल्यान्ड्स दिउँस १:१५ बजे
वैशाख ८ नेदरल्यान्ड्स भर्सेस मलेसिया मध्यान्ह १२ :१५ बजे
वैशाख ९ नेपाल मर्सेस मलेसिया दिउँस १:१५ बजे
वैशाख १० रेस्ट डे
वैशाख ११ फाइनल दिउँसो १:१५ बजे