त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत बुधबार मलेसिया र नेदरल्यान्ड्सबीच भएको खेलको 'प्लेयर अफ दि म्याच' को विषयलाई लिएर विवाद भएको छ।
म्याच रेफ्री वेन्डेल ल्याबरोएले नेदरल्यान्ड्सका बेन कुपरलाई 'प्लेयर अफ दि म्याच' दिने निर्णय गरेका थिए।
तर 'पोस्ट म्याच प्रिजेन्टेसन' का सञ्चालक एंड्रयू लियोनार्डले नेदरल्यान्ड्सकै सेबास्टियन ब्रातको नाम लिएर 'प्लेयर अफ दि म्याच' को घोषणा गरेका थिए।
आफ्नो निर्णयविपरीत अवार्ड प्रदान गरिएपछि श्रीलंकन म्याच रेफ्रीले असन्तुष्टि जनाएका छन्।
रेफ्रीहरूको असन्तुष्टिपछि नेपाल क्रिकेट संघ (क्यान) ले यस विषयमा छलफल गरिरहेको जनाएको छ।
त्रिकोणात्मक सिरिजका प्रतियोगिता निर्देशक माधव कर्माचार्यले रेफ्रीहरूसँग छलफल भइरहेको सेतोपाटीलाई बताए।
'अहिले रेफ्रीहरूसँग छलफल गरिरहेका छौं। केही समयमा सत्यतथ्य जानकारी गराउनेछौं,' उनले भने।
सेबास्टियनले ट्रफी लिए पनि क्रिक इन्फोमा भने कुपरको नाम 'प्लेयर अफ दि म्याच'को रूपमा रहेको छ।
खेलमा कुपरले नटआउट ५४ रन जोडेका थिए। उनले ३२ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।
सेबास्टियनले २ ओभर बलिङ गर्दा २ विकेट लिएका थिए। जसक्रममा उनले १४ रन खर्चिएका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको थियो।
वर्षाले प्रभावित भएको खेलमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा १०७ रन जोडेको थियो।
त्यसपछि मलेसियाले १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो।
मलेसियाले १० ओभरमा ४ विकेटको क्षतिमा ९१ रन जोडेपछि डिएल मेथडको आधारमा स्कोर बराबरी भयो।
मलेसियालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो। जसमा नेदरल्यान्ड्सका भिभियन किग्माले ६ रनमात्र खर्चिए।
स्कोर बराबरी भएसँगै नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका छन्।
समूह चरणका सबै चार खेल खेलको नेदरल्यान्ड्सको ५ अंक भएको छ भने अन्तिम खेलअघि नेपालको ४ अंक छ। मलेसियाले १ अंक मात्र जोडेको छ।
अब उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।
त्यसअघि लिग चरणको अन्तिम खेलमा भोलि बिहीबार नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल पुग्ने दुई टिमको टुंगो लागिसकेको अवस्थामा यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ।
यसअघि नेपालले सुरूआती दुई खेलमा जीत हात पारेको थियो। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेट र दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाललाई नेदरल्यान्ड्सले पराजित गरेको थियो।