नेपालले मलेसियालाई फराकिलो अन्तरमा हराउँदै सानदार जित निकालेको छ।
राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको राउन्ड रोविनको अन्तिम खेलमा नेपालले मलेसियामाथि ६९ रनले जित निकालेको हो।
नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया ५ बल अगाडि नै अलआउट हुँदै १४८ रनमा समेटियो।
मलेसियाका लागि अमिनुद्दिन राम्लीले सर्वाधिक ४१ रन बनाए। यस्तै कप्तान अहमद फैजले ३१ रन बनाउँदा फित्री साम १४ र विकेट विपर विरेनदीप सिंहले १३ रन जोडे। बाँकी खेलाडीले खासै रन बनाउन सकेनन्।
मलेसियालाई सस्तैमा रोक्न नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले ३--३ विकेट लिए। सुशन भारीले १ विकेट हात पारे।
यसअघि करन केसीले सानदार ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनायो।
नेपालले टी ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो। १३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्काको मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आँकडा पार गरेको थियो।
डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।
तर १२ औं ओभरमा दुवै खेलाडी आउट भएका थिए । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए ।
२५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए ।
उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए । कुशलले १९ रन जोडे ।
यो जितसँगै नेपाल प्रतियोगितामा ४ मध्ये ३ खेल जित्दै ६ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। उपाधिका लागि नेपालले शनिबार नेदरल्याण्डसँग खेल्नेछ।
हेर्नुहोस् तस्बिरहरू