नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार ११ वर्षपछि घरेलु मैदानमा उपाधि जित्यो।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्समाथि १४२ रनको जित निकाल्यो।
सन् २०१० मा कीर्तिपुरमै नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि जितेको थियो।
नेपालले टी-२० सिरिजको उपाधि जित्ने क्रममा उत्कृष्ट खेल देखायो। नेपालले पाँच मध्ये तीन खेलमा २ सय रन कटायो। बाँकी दुई खेलमा नेपालले लक्ष्य पछ्याएको थियो।
नेपालले यसअघि टी-२० मा एकपटक मात्र दुई सय रन कटाएको थियो।
सिरिजमा नेपालको ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट खेल देखाए।
सिरिजमा डेब्यू गरेका ओपनर कुशल भुर्तेलले पाँच खेल मध्ये चार खेलमा अर्धशतक प्रहार गरे। कूल २७८ रन प्रहार गर्दै उनी प्लेयर अफ दि सिरिज घोषित भए।
भूर्तेल सन् २०२१ मा टी-२० मा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीको पाँचौ स्थानमा उक्लिए। भुर्तेलले सूचीमा भारतका कप्तान विराट कोहलीलाई पछि पारे। कोहलीले सन् २०२१ मा पाँच खेलमा २३१ रन प्रहार गरेका छन्।
अर्का ओपनर आशिफ शेखले पनि एक अर्धशतक प्रहार गर्दा अन्य खेलमा कुशललाई गतिलो साथ दिए।
उपकप्तान दिपेन्द्रसिंह ऐरी र युवा ब्याट्सम्यान कुशल मल्लले पनि सिरिजमा अर्धशत प्रहार गरे। अर्धशतकसँगै कुशल मल्लले टी-२० मा अर्धशतक प्रहार गर्ने कान्छा ब्याट्सम्यानको कीर्तिमान आफ्नो नाममा लेखाए।
करणले केसीले मलेसियाविरुद्ध १३ बलमा ४५ रन प्रहार गर्दै सनसनी मच्चाए। उनले खेलमा ७ छक्का हिर्काएका थिए।
बलिङमा सन्दीप लामिछानेले १३ विकेट लिए। सिरिजमा उनी सर्वाधिक विकेट लने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहे।
बढी विकेट लिने खेलाडीको सूचीको दोस्रो स्थानमा रहेका करणले ७ विकेट लिए। अन्तिम दुई खेल खेलेका डेब्यू खेलाडी कमलसिंह ऐरीले पनि ५ विकेट लिन सफल भए।
नेपालले उत्कृष्ट खेल देखाउनुको पछाडि प्रशिक्षक डेभ वाटमोरको योगदान छ। चार महिनाअघि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका वाटमोरको प्रभाव नेपाली टिममा परेको स्पष्ट देखियो।
श्रीलंका, पाकिस्तान, बंगलादेश, जिम्बावे जस्ता टेस्ट टिमको प्रशिक्षक रहिसकेका वाटमोरको आगमनपछि नेपाली टिमको ब्याटिङ पक्ष निर्भिक देखिएको छ। जुन प्रशिक्षक वाटमोर पनि स्वीकार गर्छन्।
'उपाधि जित्दा राम्रो लागिरहेको छ। नेपाली टिमको प्रदर्शनमा अतिकति 'सरप्राइज' छु। नेपालले अन्तिममा उत्कृष्ट खेल देखायो,' वाटमोरले भने।
फाइनलअघि राम्रो तयारी गरेकाले उपाधि जित्न सफल भएको उनको भनाइ छ। नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २३८ रन जोडेको थियो। यो नेपालको टी-२० को उच्च स्कोर हो।
बलिङमा पनि नेपाली टिम प्रभावकारी देखियो। डच टिम १७.२ ओभरमा ९६ रनमै अलआउट हुँदा नेपाल १४२ रनले विजयी भयो। यो जित नेपालले रनका आधारमा हात पारेको सबैभन्दा ठूलो हो।
'खेल प्रतिस्पर्धात्मक हुन्छ भन्ने त लागेको थियो। हामी ठूलो खेलका लागि तयार थियौं, खेलाडीहरु शारिरीक र प्राविधिक रूपमा तयार थिए। ठूलो खेलमा योजना र क्षमता मैदानमा उतार्न सक्नुपर्छ। टिमलाई जे चाहिएको छ त्यो गर्न सक्नुपर्छ। शतप्रतिशत इफोर्ट लगाउनुपर्छ,' वाटमोरले फाइनलबारे भने।
'कहिलेकाँही यस्तै खेल हुन्छ। नेदरल्यान्ड्स राम्रो टिम हो। तर फेरि पनि कहिलेकाँही नतिजाले पनि फरक पार्छ। '
नेपाली टिम उत्कृष्ट लयमा देखिएको बेला तत्काल कुनै प्रतियोगिता छैन। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कोरोना कारण नेपालले खेल्ने तय विश्वकप लिग-२ का खेल लगातार स्थगित गरिरहेको छ।
लिग-२ मा नेपालले एक सिरिज मात्र खेलेको छ। गत वर्ष नेपालमा आयोजना भएको लिग-२ को सिरिजमा नेपालसहित ओमान र अमेरिकाले प्रतिस्पर्धा गरेका थिए। सो सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो।
लिग-२ मा नेपालले अझै ८ वटा त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ। तर लिग-२ कहिलेदेखि सुचारु हुन्छ यकिन छैन।
तत्काल कुनै प्रतियोगिता नहुँदा आफू केही चिन्तित भएको प्रशिक्षक वाटमोर बताउँछन्।
'कोभिडले नेपाललाई मात्र होइन सबै टिमलाई असर गरेको छ। सबै टिम खेल्न चाहान्छन्। दु:खका साथ भन्नु पर्छ हामीसँग आगामी महिनासम्म कुनै प्रतियोगिता छैन। त्यसपछि वर्षा सुरु हुन्छ। त्यसैले केही चिन्तित त छु,' वाटमोरले भने।