नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले मंगलबार राति सामाजिक सञ्जालमा एउटा स्टाटस पोस्ट गरे।
'समय मात्रै खराब छ अहिले, तर चिन्ता नलिनुस्, यो समय पनि एकदिन ठिक हुनेछ,' उनले लेखेका थिए।
स्टाटस जस्तै उनका लागि अहिले समय खराब बनेको छ। उनलाई लागि सन् २०२१ फापेको छैन।
अघिल्ला वर्षमा विदेशी फ्रेञ्चाइज लिगमा आफ्नो जादू देखाउने सन्दीपले यो वर्ष खासै खेल्न पाएका छैनन्।
सन् २०२१ मा सन्दीपले अस्ट्रेलियाको बिग ब्यास लिगका आठ खेल खेल्नुबाहेक विदेशी लिगका खेल खेल्न पाएका छैनन्।
बिग ब्यासपछि भएको आइपिएइल सिजन २०२१ को अक्सनमा सन्दीप कुनै पनि टिममा आबद्ध हुन सफल भएनन्।
तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेपछि उनी २०२१ देखि टिमबाट रिलिज भएका थिए। अक्सनको लिस्टमा परेका सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु राखिएको थियो, तर कुनै पनि टिम भित्र्याउन इच्छा देखाएनन्।
सन्दीप सिजन २०२१ को पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका थिए। सिजन २०२१ का लागि सन्दीपसहित १० नेपाली क्रिकेटर ड्राफ्टमा थिए। तर नेपाली खेलाडीलाई भित्र्याउन कुनै पनि टिमलले इच्छा देखाएनन्।
ड्राफ्टमा बिक्रि नभए पनि सन्दीपले पाकिस्तान सुपर लिगमा दोस्रो अवसर पाएका थिए। सन्दीपलाई अफगानिस्तानका राशिद खानको ठाउँमा खेलाउन लाहोर कलन्दर्सले टिममा आबद्ध गरेको थियो।
लाहोरमा आबद्ध भएसँगै सन्दीप गत फागुन दोस्रो साता दोहा हुँदै पाकिस्तानको कराँची पुगेका थिए।
जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण खानले पिएसएल बीचमा नै छोडेपछि सन्दीपलाई अवसर प्राप्त भएको थियो।
तर कोरोनाका कारण पाकिस्तान सुपर लिग बीचैमा स्थगित भयो। सन्दीप क्वारेन्टिनमा रहेको अवस्थामा पिएसएल अनिश्चितकालका लागि स्थगित भएको थियो। जसका कारण सन्दीप सिजनको पिएसएलमा कुनै पनि खेल नखेली फागुन २१ गते स्वदेश फर्कन बाध्य भए।
चैत दोस्रो साता सन्दीप इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिसबी)ले आयोजना गर्ने भाइटलिटी टी-२० ब्लास्टको टिममा आबद्ध हुन सफल भए।
सन् २००३ देखि आयोजना हुँदै आएको प्रतियोगिताको सिजन २०२१ का लागि सन्दीप वर्सेस्टसायर र्यापिडमा आबद्ध थिए।
विश्वका विभिन्न देशका टी-२० लिग खेलिसकेका सन्दीप इंग्ल्यान्डको टी-२० लिगमा पहिलो पटक आबद्ध भएका थिए।
त्यसअघि सन्दीपले इंग्ल्यान्डको अर्को क्रिकेट प्रतियोगिता 'द हन्ड्रेड' को टिममा आबद्ध भएका थिए। द हन्ड्रेडमा सन्दीप ओभल इन्भिसिबल्समा आबद्ध थिए। उनी ६० हजार पाउन्ड (झण्डै एक करोड रुपैयाँ) मा ओभलमा आबद्ध भएका थिए।
सन्दीपले गत वैशाखमा टी-२० ब्लास्ट र द हन्ड्रेड खेल्नका लागि बेलायतको भिसाका लागि आवेदन दिएका थिए।
भिएफएस ग्लोबलमार्फत बेलायतको भिसाका लागि आवेदन दिए पनि एक महिनासम्म कुनै जानकारी प्राप्त नभएपछि सन्दीपले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरेका थिए।
जेठ दोस्रो सातासम्म पनि भिसा नआउदा सन्दीपले टी-२० ब्लास्ट खेल्ने सम्भावना न्यून बनेको थियो।
डेढ महिनापछि मात्र सन्दीपले भिसा पाउँदा टी-२० ब्लास्ट खेल्ने अवसर गुमाएका थिए। जेठ चौथो साता मात्र भिसा आउदा सन्दीपका लागि टी-२० ब्लास्ट खेल्न जान ढिलाइ भएको थियो।
त्यहीँ भिसामा सन्दीप द हन्ड्रेड खेल्न १० दिनअघि इंग्ल्यान्ड पुगेका थिए। त्यहाँ पुगेर बेलायत सरकारले तोकेको होटलमा उनले १० दिनको क्वारेन्टिन पूरा गर्दै थिए।
क्वारेन्टिन पूरा हुन दुई दिन बाँकी रहदा इसिबीले सन्दीपको भिसा मान्य हुन नसक्ने जानकारी थियो।
टियर-५ भिसामा त्यहाँ पुगेका सन्दीलाई जतिसक्दो चाडो देश छाड्न भनिएको थियो। जसका कारण सन्दीप द हन्ड्रेड गुमाउँदै स्वदेश फर्कन बाध्य भएका थिए।
बेलायतको टियर-५ भिसाको आवेदन दिन र त्यसका लागि एउटा प्रायोजन पर्याप्त हुने इबिसीले दिएको निर्देशनअनुसार आफूले भिसा लागि आवेदन दिएको सन्दीपको भनाइ छ।
सन्दीपले आफ्नो भिसाको समस्या इसिबीकै कारणले आएको भन्दै असन्तुष्टि जनाएका छन्।
'मैले के गल्ती भयो भनेर सोधेको छु तर स्पष्टरूपमा इसिबीका कोहीसँग पनि सहि उत्तर छैन,' उनले सामाजिक सञ्जालमा लेखेका छन्,'कम्तिमा पनि मेरो मान्य भिसा वैध किन छैन,यसको स्पष्ट उत्तर चाहिन्छ।'