नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० लिगको आयोजना अनुमति भारतीय कम्पनीलाई दिने प्रस्तावबाट नेपाल क्रिकेट संघ (क्यान) पछि हटेको छ।
गत मंसिरमा क्यानको बोर्डको तर्फबाट एनपिएल आयोजना अनुमति भारतीय कम्पनीलाई दिने प्रस्ताव गरिएको थियो।
भारतीय कम्पनीले पूर्व शर्त पालना नगरेको तथा लकडाउनले असर गरेको भन्दै क्यानले एनपिएलको प्रक्रिया अघि बढ्न ढिलाइ भइरहेको बताउँदै आएको छ।
एनपिएलको विषयमा बुधबार बसेको बोर्ड बैठकमा छलफल भएपछि भारतीय कम्पनीलाई आयोजन गर्न दिने प्रक्रियाबाट क्यान पछि हटेको हो। क्यानले एनपिएलका लागि सरकारबाट अनुमति प्राप्त हुन नसकेको र भारतीय कम्पनीले पूर्व सम्झौता पालना नगरेको कारण देखाएको छ।
‘भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्यमा नेपाल क्रिकेट संघले टी-२० लिग आयोजना गर्ने गरी गरेको सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारले हालसम्म पनि अनुमति प्रदान नगरेको साथै सो कम्पनीले सरकारको अनुमति पूर्व गर्नु पर्ने सम्झौता अनुरूपका कार्यहरू सम्पन्न गर्न नसकेको हुँदा उक्त सम्झौता रद्द गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ,’ क्यानले बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै भनेको छ।
एनपिएल टी–२० को 'ड्राफ्ट'मा भारतीय कम्पनी सेभेन–थ्री-स्पोर्ट्स लिमिटेड (एस-थ्री) र क्यानबीच प्रारम्भिक सम्झौतापत्रमा (एमओयू)मा हस्ताक्षर भएको थियो। क्यान र एस-थ्रीबीच जुनियर क्रिकेट च्याम्पियनसिप आयोजना गर्ने विषयमा पनि एमओयू भएको थियो।
भारतीय कम्पनीलाई बिनाप्रतिस्पर्धा १० वर्षका लागि ४२ करोड रुपैयाँ लिएर एनपिएल टी-२० आयोजना गर्न दिने प्रस्तावको चर्को आलोचना भएको थियो।
भारतीय कम्पनीले एनपिएल टी-२० आयोजनाको अनुमतिका लागि पहिलो वर्ष २ करोड रुपैयाँ दिने प्रस्तावमा उल्लेख थियो।
दोस्रो वर्ष २ करोड, तेस्रो वर्ष २ करोड ५० लाख, चौथो वर्ष ३ करोड र पाँचौ वर्ष ४ करोड २० लाख रुपैयाँ क्यानलाई दिने भनिएको थियो।
छैठौं वर्ष पनि ४ करोड २० लाख, सातौं र आठौं वर्ष समान ५ करोड १० लाख प्रदान गर्ने भनिएको थियो। नवौं सिजन ५ करोड ९० लाख तथा दशौं सिजनमा सबैभन्दा बढी ७ करोड ५० लाख गरी कुल ४२ करोड क्यानलाई बुझाउने एनपिएलको ड्राफ्टमा उल्लेख छ।
क्यान निलम्बनको अवस्था समेत नेपालमा तीन वटा फ्रेन्चाइज क्रिकेट लिग आयोजना भएका थिए। धेरैले क्यानको निलम्बन फुकुवा भएपछि एनपिएल क्यानले नै आयोजना गर्छ भन्ने अपेक्षा गरेका थिए। तर क्रिकेटको नियामक निकाय क्यानले एनपिएल आयोजना विदेशी कम्पनीलाई दिने प्रस्ताव गरेपछि आलोचना भएको थियो।
यता क्यानको बुधबारको बोर्ड बैठकले नेपाल क्रिकेट संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले गत असोज १३ गते दिएको राजीनामा बोर्ड बैठकले स्वीकृत गरेको छ।
क्यानको विधान बमोजिम तत्कालका लागि रिक्त गरेको सचिव पदमा केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ललाई कार्यवहाक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ।
क्यानको वार्षीक साधारण सभा डिसेम्बर १५ २०२१ सम्म गर्ने निर्णय भएको छ।
कर्णाली प्रदेशमा मातहत न्यूनतम ४ जिल्ला हुनुपर्ने वैद्यानिक व्यवस्था भएबमोजिम कालिकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता प्रदान गर्ने निर्णय गरिएको छ।
नेपाली क्रिकेट टिमको रिक्त रहेको मुख्य प्रशिक्षकको पदपूर्तिका लागि एक हप्ताभित्र १५ दिनको समय सीमा राखी आवेदन माग गर्ने निर्णय पनि गरेको छ। गत महिना नेपाली टिमका प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका थिए।
नोभेम्बर २०२१ मा युएईमा हुने आइसिसी महिला टी-२० विश्वकप एसियाली छनोटका लागि नेपाली महिला राष्ट्रिय टिमको बन्द प्रशिक्षण अक्टोबर २० २०२१ देखि काठमाडौं सञ्चालन गर्ने पनि क्यानले निर्णय गरेको छ।