अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट (क्यान) को निलम्बन फुकुवा गरेको दुई वर्ष पूरा भइसक्यो।
२०७६ असोजमा क्यानको निर्वाचनबाट नयाँ नेतृत्व आएपछि आइसिसीले क्यानमाथिको निलम्बन शर्तसहित फुकुवा गरेको थियो।
आइसिसीले त्यतिबेला आर्थिक लगायतको क्षेत्रलाई पारदर्शी बनाउने गरी क्यानको निलम्बन हटाएको थियो। आइसिसीले क्यान आर्थिक रुपमा पारदर्शी र चुस्त होस् भनेर शर्त राखेको थियो।
तर दुई वर्षमा पनि क्यानले आफ्नो आर्थिक अवस्थालाई चुस्त पार्न सकेको छैन। क्यानबाट पेश्की लागेकाहरूले अझै हिसाब बुझाएका छैनन्। दशकदेखि क्यानमा पेश्की रकम पर्छ्यौट हुन सकेको छैन।
अर्कोतर्फ क्यान आफैले पनि विभिन्न व्यक्ति तथा कम्पनीको उधारो तिर्न सकेको छैन। जसका कारण ती कम्पनीले क्यानलाई हेर्ने नजर साकारात्मक हुन सकेको छैन।
क्यानको गत आर्थिक वर्षको अडिट एबिएस एन्ड एसोसिट्स चार्टर्ड एकाउन्सले गरेको थियो। २०७७ असार ३१ सम्मको अडिट रिपोर्टअनुसार क्यानमा पेश्की पर्छ्यौटको अवस्था दयनीय छ।
क्यानबाट पैसा लागेका व्यक्तिहरूले लामो समयसम्म हरहिसाब बुझाएका छैनन्। विगतमा अध्यक्ष भएर काम गरेका व्यक्तिदेखि राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिवले समेत क्यानबाट पेश्की लिए पनि त्यसको हरहिसाब बुझाएका छैनन्।
क्यानको पेश्की पर्छ्यौट नगर्ने व्यक्तिमा अमृता शर्मा १ लाख ७० हजार, अनुप थापा २ लाख २९ हजार, आशा गुरुङ ४२ हजार, विक्रम सिंह धामी ११ हजार, विनोद मैनाली १९ हजार, विनोद राजभण्डारी १० हजार, विराज प्याकुरेल १३ हजार, दीपक साउद ५ लाख ३८ हजार, कोमलबहादुर पाण्डे १ लाख ७९ हजार, माधवकुमार कर्माचार्य २ लाख ३० हजार, राजेन्द्र बम १४ हजार, रमेश धामी ५ हजार, रमेश सिलवाल ३६ हजार, रंजित तामाङ २ लाख ५८ हजार, रंजित राना १ लाख १५ हजार, शैलेश कुमार सिंह १ लाख १९ हजार, संजिव पाण्डे ८८ हजार, शशीराज सुवेदी ४ लाख ८२ हजार, श्रीहर्ष कोइराला १ लाख २९ हजार, सुनीलमान अमात्य १४ लाख २० हजार, सुनीलसिंह हमाल ५ हजार, टंग आङबुहाङ ३ लाख ६४ हजार, तारिणीविक्रम शाह ७ लाख ३५ हजार, ठाकुप्रताप थापा १ लाख ४९ हजार र उमा कार्की १७ हजार रहेका छन्।
क्यानले विगत लामो समयदेखि विभिन्न कम्पनीलाई दिनु पर्ने रकम समेत दिन सकेको छैन।
२०७७ असार ३१ सम्मको अडिट रिपोर्टअनुसार क्यानले ९५ कम्पनी तथा व्यक्तिलाई २ करोड ४६ लाख भन्दा बढी रकम तिर्न बाँकी छ। कार्यक्रम गरेका तथा विभिन्न काम लगाएका ती कम्पनीलाई रकम तिर्न नसक्दा क्यानको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने गरेको छ।
असार यता क्यानले केही कम्पनीको रकम तिरे पनि अहिले पनि ९० भन्दा बढीको उधारो तिर्न बाँकी रहेको क्यान स्रोतको भनाइ छ।
हेर्नुहोस् सूची :-
यस्तै क्यानले आफ्नै अध्यक्ष लगायतलाई पनि पैसा तिर्न बाँकी छ। क्यानले अध्यक्ष चुतरबहादुर चन्दलाई ४० हजार, वीरेन्द्रसिंह गुरुङलाई ७ हजार, छत्रप्रताप अधिकारीलाई ९ हजार, दीपक कोइरालालाई १८ हजार, धिरेन्द्र साउदलाई २८ हजार, दिवाकर घलेललाई १ लाख ५४ हजार, केशव घिमिरेलाई १ लाख ३२ हजार, किरण राणालाई ५ हजार, नरेश श्रेष्ठलाई ७० हजार, राजुबाबु श्रेष्ठलाई २ लाख ९३ हजार, रतन कठायतलाई ४ हजार, रोशन सिंहलाई २ हजार, संजयराज सिंहलाई ४५ हजार र उत्तम कर्मचार्यलाई ७ हजार तिर्न बाँकी छ।