नेपाल क्रिकेट संघ (क्यान) को गत असोज तेस्रो साता बसेको बोर्ड बैठकले पुरुष तथा महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण पारित गरेको थियो।
तत्कालिन उपाध्यक्ष राजु बाबु श्रेष्ठको संयोजकत्वमा गठित समितिले निर्धारण गरिएको उक्त वर्गीकरण सार्वजनिक भने गरिएको थिएन। नयाँ वर्गीकरण अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि हुने भनिएको छ।
बोर्ड बैठकबाट नयाँ वर्गीकरण पारित गरेपछि क्यानले खेलाडीलाई छुट्टा छुट्टै सन्देश पठाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न खबर पठायो। सम्झौतामा हस्ताक्षर गर्नुअघि नयाँ वर्गीकरण हेर्न पाउनु पर्ने कतिपय खेलाडीले माग राखे।
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर सोमपाल कामीले पनि सम्झौतामा हस्ताक्षर गर्नुअघि सम्झौता अध्ययन गर्न चाहेका थिए। तर सम्झौता उपलब्ध हुन नसकेपछि उनी क्यानले बोलाएको मितिमा कार्यालय गए।
जब नयाँ वर्गीकरण देखे, सन्तुष्ट हुन सकेनन्। ‘कतिपय खेलाडीलाई वर्गीकरणमा राखिएको थिएन। कतिलाई हुनु पर्ने भन्दा तल्लो वरीयतामा राखिएको थियो,’ सोमपालले सेतोपाटीसँग भने, ‘मेरो आफ्नै वरीयतामा पनि सन्तुष्ट हुन सकिन।'
सोमपाल ‘बी’ श्रेणीमा थिए। पछिल्लो वर्ष उनले नेपाली टिम तथा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनले रोहितकुमार पौडेलको नाम वर्गीकरणमा नदेखेकोमा पनि असन्तुष्टि व्यक्त गरे।
वर्गीकरणमा चित्त नबुझेपछि सोमपाल हस्ताक्षर नगरी फर्किए।
नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल नयाँ वर्गीकरणमा त्रुटि भएको बताउँछन्। उनले पनि कतिपय खेलाडीको वर्गीकरण सही तरिकाले हुन नसकेको बताए।
‘वर्गीकरणमा कोहि खेलाडी पर्ने कोहि नपर्ने भएको देखिन्छ। यो चित्तबुझ्दो छैन,’ उनले भने।
यसअघि २० जनासँग सम्झौता हुने गरेकोमा अहिले १८ जनासँग मात्र सम्झौता गरेकोमा उनी सन्तुष्ट छैनन्।
वर्गीकरणमा भेदभाव गर्दा खेलाडीको मनोविज्ञानमा असर गर्ने उनले बताए।
‘खेलाडीले तलबको लागि खेल्ने त होइन। खेलाडीले आफ्नो देशलाई जिताउन मिहिनेत गरेको हुन्छ। त्यो मिहिनेतको कदर आफ्नै अभिभावकबाट नहुँदा जहिले पनि शंका हुन्छ। खेलमा मात्र केन्द्रीत हुनु पर्नेमा यस्ता साना कुरामा सोच्नु पर्ने अवस्थामा गाह्रो चाहिँ हुन्छ,’ ज्ञानेन्द्रले भने।
खेलाडीहरूले वर्गीकरणमा असन्तुष्ट जनाएपछि आफूले क्यानका कार्यवहाक सचिव प्रशान्त मल्लसँग कुरा गरेको मल्लको भनाइ छ।
नेपाली टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरी पनि नयाँ वर्गीकरणमा सन्तुष्ट छैनन्।
‘क्यानले सम्झौता गर्न बोलाएपछि हस्ताक्षर गरेर फर्के। जब अभ्यासमा गए सबै केटाहरूले वर्गीकरणमा असन्तुष्टि जनाए,’ दिपेन्द्रले भने, ‘रोहित सम्झौतामा छैन। उसलाई ल्याउन पर्छ। गुल्शन झाले पछिल्लो समय राम्रो खेलिरहेको छ। उसलाई पनि केही रकम दिनु पर्छ। सोमपाल दाई पनि ए श्रेणीमा हुनु पर्छ भन्ने मलाई लाग्छ। पहिला पनि गल्ति भएको थियो, अहिले फेरि गल्ति भएको छ।’
सी श्रेणीमा रहेका कमलसिंह ऐरीले सम्झौतामा हस्ताक्षर गरेका छैनन्। उनी आफ्नो श्रेणीमा भने सन्तुष्ट छन्।
‘वर्गीकरण चित्तबुझ्दो नभएर हस्ताक्षर नगरेको हुँ। खेलाडीलाई कुन आधारमा श्रेणीमा राखिएको स्पष्ट हुन सकिएन,’ उनले भने।
भिडिओ हेर्नुहोस् :
खेलाडीहरूले वर्गीकरणमा असन्तुष्टि व्यक्त गरे पनि क्यानका कार्यवहाक सचिव प्रशन्त मल्ल न्यायोचित तरिकाले वर्गीकरण गरिएको दाबी गर्छन्।
‘हामीले मापदण्डभित्र रहेर वर्गीकरण गरेका हौं। त्यसमा असन्तुष्ट हुनु पर्ने ठाँउ देखिन्न,’ उनले भने, ‘कतिपय खेलाडीलाई आफू पहिलो श्रेणीमा पर्नु पर्ने भन्ने लागेको छ। सबै खेलाडीलाई त्यो श्रेणीमा राखिएको आधार स्पष्ट तरीकाले बुझाउन सक्छु।’
खेलाडी वर्गीकरणको मापदण्डमा अन्तर्राष्ट्रिय सहभागितालाई २५ अंक, घरेलु सहभागितालाई १० अंक, खेलाडीको प्रदर्शनलाई ४० अंक, टिमलाई दिएको योगदानलाई ५ अंक, फिटनेसलाई ५ अंक, स्थायीत्वलाई ५ अंक र अनुशासन लगायतका क्रियाकलापलाई ५ अंक दिइएको छ।
यो बीचमा नेपालले घरेलु मैदानमा टी-२० सिरिज खेलेको थियो भने ओमान भ्रमणमा ६ वटा एकदिवसीय खेल खेलेको थियो। यी सिरिजमा राम्रो खेलेका खेलाडीलाई तल्लो श्रेणीमा राखेकोमा पनि खेलाडीहरुको असन्तुष्टि छ।
'ए' श्रेणीमा रहेका क्रिकेटरले मासिक ५० हजार, 'बी' श्रेणीका क्रिकेटरले मासिक ४० हजार र 'सी' श्रेणीका क्रिकेटरले मासिक ३० हजार रुपैयाँ पाउँदै आएका छन्।
महिलातर्फ 'ए' श्रेणीमा रहेका क्रिकेटरले मासिक १५ हजार, 'बी' श्रेणीका क्रिकेटरले मासिक १२ हजार र 'सी' श्रेणीका क्रिकेटरले मासिक १० हजार रुपैयाँ पाउँछन्।
वर्गीकरण
अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्म
पुरुष
ए
१. करन केसी
२. सन्दिप लामिछाने
३. ज्ञानेन्द्र मल्ल
४. दिपेन्द्र सिंह ऐरी
५. पारस खड्का
बी
१. कुशल मल्ल
२. विनोद भण्डारी
३. सुशान भारी
४. अविनाश बोहरा
५. शरद भेषवाकर
६. सोमपाल कामी
सी
१. कुशल भुर्तेल
२. आरिफ शेख
३. कमल सिंह ऐरी
४. आशिफ शेख
५. सन्दिप जोरा
६. पवन शर्राफ
७. शाहव आलम
महिला खेलाडी
ए
१. सिता राना मगर
२. रुबिना क्षेत्री
३. इन्दु बर्मा
४. करुणा भण्डारी
५. काजोल श्रेष्ठ
बी
१. नेरी थापा
२. सरिता मगर
३. कविता कुँवर
४. अन्जली चन्द
५. रोमा थापा
६. सोनु खड्का
सी
१. ममता चौध री
२. अप्सरी बेगम
३. विन्दु रावल
४. आरती बिडारी
५. डली भट्ट
६. सरस्वती चौधरी
७. सुमन खतिवडा