आइसिसी टी-२० विश्वकप २०२१ जारी रहदा टी-२० विश्वकप २०२२ मा प्रतिस्पर्धा गर्ने १२ टिमको टुंगो लागिसकेको छ।
कोभिड-१९ का कारण एक वर्ष ढिलो भएको जारी विश्वकपको सुपर १२ मा प्रतिस्पर्धा गरेका सबै टिमले आगामी वर्ष अस्ट्रेलियामा हुने विश्वकपका लागि स्थान पक्का गरेका हुन्।
जारी विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका हुन्। अस्ट्रेलिया आयोजकको हैसियतमा यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो।
अस्ट्रेलियामा हुने विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। १२ टिमको स्थान पक्का भइसकेको अवस्थामा बाँकी चार टिमका लागि विश्व छनोट हुनेछ।
विश्व छनोटमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा जारी विश्वकपमा सहभागी भएका पुछारका चार टिम, टी-२० विश्व वरीयतामा अघि रहेका चार टिम र महादेशीय छनोट पार गरेका आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।
विश्व छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्ने गत महिना नै पक्का भएको थियो। आइसिसीले गत महिना नेपालसहित चार देशलाई वरीयताका आधारमा विश्व छनोटमा प्रवेश दिएको थियो।
हाल टी-२० विश्व वरीयताको १३औं स्थानमा रहेको नेपालका लागि विश्व छनोट एउटा अवसर हुन सक्छ।
विश्व छनोटमा दुई समूहमा प्रतिस्पर्धा हुने बताइएको छ। दुवै समूहमा ८-८ टिम हुनेछन्। समूह ‘ए’ को खेल आगामी फेब्रुअरी र समूह ‘बी’ को खेल आगामी मेमा हुनेछ। दुवै समूहका शीर्ष २-२ टिम सन् २०२२ को टी-२० विश्वकपको पहिलो चरणका लागि छनोट हुनेछन्।
आइसिसीले विश्व छनोटको खेल तालिका, समूह विभाजन र खेल स्थल अझै टुंगाइसकेको भने छैन।
विश्व छनोट आउन तीन महिना बाँकी रहेको अवस्थामा नेपालले अझै तयारी थालेको छैन।
नेपाल क्रिकेट संघ (क्यान) अहिले यू-१९ राष्ट्रिय प्रतियोगितामा व्यस्त छ।
डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टिमको प्रमुख प्रशिक्षक पद खाली छ। क्यानले प्रमुख प्रशिक्षकका लागि दरखास्त आह्वान गर्दै प्रशिक्षक नियुक्त प्रक्रिया अघि बढाएको अवस्था छ।
प्रमुख प्रशिक्षक नियुक्त हुन अझै कति समय लाग्छ यकिन छैन। सम्भवत: नेपालले टी-२० विश्व छनोटको तयारी नयाँ प्रशिक्षक नियुक्त भएपछि गर्नेछ।
सन् २०१४ को टी-२० विश्वकप खेलेपछि नेपालले टी-२० विश्व छनोटमा सफलता हात पारेको छैन।
जारी विश्वकपका लागि दुई वर्षअघि सिंगापुरमा एसिया छनोट भएको थियो। जहाँ नेपालले खराब प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।
नेपालले सन् २०१२ भएको युएईमा भएको विश्व छनोट खेलेको थियो। त्यतिबेला नेपाल सातौं भएको थियो।
नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी-२० विश्वकप पुगेको थियो।
सन् २०१५ को विश्व छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन। आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहदै बाहिरिएको थियो।
सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ। ८ टिमको समूहमा उत्कृष्ट दुईभित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी-२० विश्वकप खेल्नेछ।
२०२२ विश्व छनोट
आइसिसी टी-२० विश्वकपको पुछारका ४ टिम - आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, पपुवा न्युगिनी
आइसिसी टी-२० वरीयताका आधारमा ४ टिम - नेपाल, सिंगापुर, युएई र जिम्बावे
क्षेत्रीय छनोटबाट ८ टिम - अफ्रिका (१ टिम), अमेरिका (२ टिम), एसिया (२ टिम- बहराइन र हङकङ), इस्ट एसिया प्यासेफिक (१ टिम- फिलिपिन्स) र युरोप (२ टिम-जर्सी र जर्मनी)
जम्मा -१६ टिम (४ टिम विश्वकपमा छनोट हुने)
२०२२ टी–२० विश्वकप
आयोजक - अस्ट्रेलिया
आइसिसी टी-२० विश्वकप २०२१ को सुपर १२ मा पुगेका –११ टिम (अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज)
विश्व छनोट समूह ए – २ टिम
विश्व छनोट समूह बी - २ टिम
जम्मा– १६ टिम