आइसिसी टी-२० विश्वकप २०२२ को विश्व छनोट आगामी फेब्रुअरी र मेमा हुँदैछ। विश्व छनोटमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। १६ टिममध्ये ४ टिमले अगामी वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउनेछन्।
विश्व छनोट आउन तीन महिना बाँकी रहदा टिमहरूले तयारी सुरू गरिसकेका छन्।
तर नेपालको तयारी कहिले सुरू हुन्छ यकिन छैन। जसका कारण अहिले नेपाल क्रिकेट संघ (क्यान) प्रति नेपाली क्रिकेट समर्थक आक्रोशित बनेका छन्।
क्यानले नेपाली टिमको तयारी तत्काल थाल्नु पर्ने भन्दै समर्थकहरूले सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन्। #wakeupCAN नाममा समर्थकहरूले चलाएको विरोध शनिबार ट्विटर ट्रेन्डिङमा आएको थियो।
समर्थकहरूले सुरूमा फेसबुक समूहमार्फत क्यानविरुद्ध विरोध थालेका थिए।
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) फेसबुक ग्रुपमा कमल आचार्यले विश्व छनोट नजिकिएको अवस्थामा नेपालका लागि जिम्बावे, नेदरल्यान्ड्स, ओमान, युएई, अमेरिका, सिंगापुर र क्यानडा जस्ता टिम कठिन हुने लेखेका छन्। टी-२० विश्वकपमा उत्कृष्ट खेल देखाएका नामिबिया र स्कटल्यान्डसँग नेपालले विश्वकप लिग-२ मा खेल्न लागेको अवस्थामा नेपालले छिटो तयारी थाल्नु पर्ने उनले लेखेका छन्।
क्रिकेट कमेन्टेटर आयुष गौतमले ट्विटरमा आफ्नो नाम परिवर्तन गर्दै #wakeupCAN राखेका छन्।
यस्तै दिपेश पण्डितले क्यानबाट आसा गर्न आफूले छाडिदिएको भन्दै ट्विटरमा लेखेका छन्।
#wakeupCAN अभियानलाई नजिकबाट नियालिरहेका पण्डितले अभियानबारे सेतोपाटीसँग भने, ‘नेपालको महत्वपूर्ण खेलहरू आउँदैछन्। तर क्यानको सुस्त कार्यशैलीबाट निराश भएका फ्यानहरूले अभियान सुरू गरेका हुन्। सुरूमा फेसबुक फ्यान ग्रुपबाट #wakeupCAN सुरु भएको थियो। अनि मैले पनि ट्विटरमा लेखेको हुँ।’
व्यवस्थापन फितलो हुँदा गत बिहीबार नेपाली महिला टिमको बंगलादेशमा फ्लाइट छुटेको थियो। नेपाली टिमलाई पिसिआर रिपोर्ट नभएको भन्दै ढाकाको अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी भित्र छिर्न दिएका थिएनन्।
जसका कारण नेपाली टिम बसबाट स्वदेश फर्कनु परेको थियो। यो कुरा क्यानले सामाजिक सञ्जालमा जानकारी दिएको थियो। जुन जानकारीमा सयौं समर्थकले ह्यासट्यागमा #wakeupCAN मा क्यानको फितलो व्यवस्थापनमा प्रश्न उठाएका थिए।
कतिपयले उचित कदम नचालेमा क्यानको कार्यालय घेराउ गर्ने भन्दै लेखेका छन्।
टी-२० विश्वकपको विश्व छनोटमा नेपालले प्रतिस्पर्धा गर्ने गत महिना नै पक्का भएको थियो। आइसिसीले गत महिना नेपालसहित चार देशलाई वरीयताका आधारमा विश्व छनोटमा प्रवेश दिएको थियो।
विश्व छनोटमा दुई समूहमा प्रतिस्पर्धा हुने छ। दुवै समूहमा ८-८ टिम हुनेछन्। समूह ‘ए’ को खेल आगामी फेब्रुअरी र समूह ‘बी’ को खेल आगामी मेमा हुनेछ। दुवै समूहका शीर्ष २-२ टिम सन् २०२२ को टी-२० विश्वकपको पहिलो चरणका लागि छनोट हुनेछन्।
आइसिसीले विश्व छनोटको खेल तालिका, समूह विभाजन र खेल स्थल अझै टुंगाइसकेको भने छैन।
सन् २०१४ को टी-२० विश्वकप खेलेपछि नेपालले टी-२० विश्व छनोटमा सफलता हात पारेको छैन।
जारी विश्वकपका लागि दुई वर्षअघि सिंगापुरमा एसिया छनोट भएको थियो। जहाँ नेपालले खराब प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।
नेपालले सन् २०१२ भएको युएईमा भएको विश्व छनोट खेलेको थियो। त्यतिबेला नेपाल सातौं भएको थियो।
नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी-२० विश्वकप पुगेको थियो।
सन् २०१५ को विश्व छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन। आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहदै बाहिरिएको थियो।
सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ। ८ टिमको समूहमा उत्कृष्ट दुईभित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी-२० विश्वकप खेल्नेछ।
२०२२ विश्व छनोट
आइसिसी टी-२० विश्वकपको पुछारका ४ टिम - आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, पपुवा न्युगिनी
आइसिसी टी-२० वरीयताका आधारमा ४ टिम - नेपाल, सिंगापुर, युएई र जिम्बावे
क्षेत्रीय छनोटबाट ८ टिम - अफ्रिका (१ टिम), अमेरिका (२ टिम), एसिया (२ टिम- बहराइन र हङकङ), इस्ट एसिया प्यासेफिक (१ टिम- फिलिपिन्स) र युरोप (२ टिम-जर्सी र जर्मनी)
जम्मा -१६ टिम (४ टिम विश्वकपमा छनोट हुने)
२०२२ टी–२० विश्वकप
आयोजक - अस्ट्रेलिया
आइसिसी टी-२० विश्वकप २०२१ को सुपर १२ मा पुगेका –११ टिम (अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज)
विश्व छनोट समूह ए – २ टिम
विश्व छनोट समूह बी - २ टिम
जम्मा– १६ टिम