आइसिसी महिला टी-२० विश्वकपअन्तर्गत एसिया छनोट खेल्नुअघि नेपाली महिला राष्ट्रिय टिम अहिले कतारमा छ।
कतारसँग तीन खेलको टी-२० सिरिज खेलेपछि नेपाली टिम विश्वकप छनोट खेल्न युएई जानेछ। छनोट आगामी सोमबारबाट सुरू हुनेछ।
कतार जानुअघि नेपाली महिला टिमले खेपेको हैरानी वर्णन गरिसाध्य छैन।
नेपाली महिला टिम गत कात्तिक १८ गते लक्ष्मीपूजाको दिन बंगलादेश गएको थियो। विश्वकप छनोटको तयारीका लागि बंगलादेश गएको नेपाली टिमले त्यहाँको स्थानीय टिमसँग अभ्यास खेल खेलेको थियो।
तीन अभ्यास खेलेपछि गत बिहीबार नेपाली टिम विमान बंगलादेशबाट स्वदेश फर्कने कार्यक्रम थियो। तर व्यवस्थापकको कमजोरीले गर्दा नेपाली टिम हवाई मार्ग हँदै स्वदेश फर्कन पाएन।
लगेज लिएर ढाकाको विमानस्थल पुगेका नेपाली महिला टिमलाई विमानस्थलका कर्मचारीले भित्र छिर्न दिएनन्। किनभने नेपाली टिमसँग कोरोना भाइरसको पिसिआर रिपोर्ट थिएन।
नेपाल फर्कनका लागि पिसिआर रिपोर्ट अनिवार्य हुने व्यवस्थापकको रूपमा बंगलादेश गएकी क्यानकी केन्द्रीय सदस्य जयन्ती भट्ट र प्रशिक्षक जगत टमाटालाई कुनै हेक्का भएन।
नेपाली खेलाडीलाई विमानस्थलमा रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) मा खैलाबैला मच्चिएको थियो। फ्लाइट छुटेपछि खेलाडीलाई क्यानले बसबाट नेपाल फर्काउने निर्णय गरेको थियो।
बसबाट भारत हुँदै झापा आउन पनि पिसिआर रिपोर्ट चाहिने भएपछि महिला क्रिकेटरको ढाका विमानस्थलमै स्वाब लिइएको थियो। त्यतिन्जेल नेपाली खेलाडी आफ्नो लगेज कुरेर विमानस्थलै बसेका थिए।
विमानस्थलमा ६ घन्टा बढी बिताएपछि नेपाली टिम बस चढेको थियो।
लामो यात्रा गर्दै नेपाली खेलाडीहरू मध्यरातमा झापा आइपुगेका थिए। झापा आइपुगेपछि कति खेलाडी आफ्नो घर गएका थिए भने कति होटलमा बसेका थिए।
झापाबाट काठमाडौं आउँदा पनि खेलाडीहरू फरक-फरक फ्लाइटमा फर्किएका थिए।
आइतबार बिहान कतारका लागि प्रस्थान गर्नुपर्ने भएकाले क्यानले विश्वकप छनोट खेल्ने नेपाली टिमलाई औपचारिक बिदाई कार्यक्रम आयोजना गर्न सकेन।
शनिबार राति खेलाडी जम्मा पार्दै क्यानका पदाधिकारीले होटलमै बिदाई गरेका थिए।
तीन दिनको सकसपछि नेपाली टिम आइतबार बिहानै कतारका लागि उडेको थियो।
विश्वकप छनोटअघि खेलाडीले पाएको हैरानीको विषयमा क्यानका पदाधिकारीले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
यद्यपि कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले क्यानको फेसबुक च्याट ग्रुपमा व्यवस्थापनबाट गल्ती भएको र त्यसको विषयमा सोधपुछ गर्ने लेखेका थिए।
क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतम भने खेलाडी बसमा आउन बाध्य हुनु व्यवस्थापकको कमजोरी भएको बताउँछन्।
‘पिसिआर परीक्षण लगायतका अन्य डकुमेन्ट पुर्याउन नसक्नु कस्तो व्यवस्थापन हो?, उनले भने, ‘खेलाडीहरूलाई बिजोक बनाएर रातरात बसमा चढाएर लिएर आउनु कमजोरी हो।’
विश्वकप छनोटअघि यस्तो हैरानी पाउँदा खेलाडीको प्रदर्शनमा समेत असर गर्ने कतिपयको भनाइ छ।
आगामी सोमबारदेखि हुने छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।