डिसेम्बरको अन्त्यमा युएईमा हुने एसिसी यू-१९ एसिया कपका लागि नेपालले बुधबारदेखि तयारी सुरू गर्दैछ।
तयारीअघि नेपालले गत आइतबार २० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको थियो। आइतबार नै सकिएको यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडी बन्द प्रशिक्षणका छनोट गरेको हो।
नेपाली युवा टिममा अधिकांस खेलाडी नयाँ छन्। टिममा परेका विवेककुमार यादव, तिलकराज भण्डारी, शेर मल्ल र गुल्शन झासँग अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको अनुभव छ। बाँकी सबै खेलाडी नयाँ छन्।
टिममा अधिकांस खेलाडी नयाँ भए पनि कतिपय खेलाडीको प्रदर्शन उच्चस्तरको छ। उच्च स्तरको प्रदर्शन हुने खेलाडीको अग्रपंक्तिमा दायाँ हाते ब्याट्सम्यान देव खनाल छन्।
बुटवलका खनालले आइतबार आफ्नो कप्तानीमा लुम्बिनीलाई यू-१९ राष्ट्रिय प्रतियोगिताको च्याम्पियन बनाए। फाइनलमा सूदूरपश्चिमलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनीलाई विजेता बनाउन उनले नेतृत्वदायी भूमीका खेले।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका देवले ६ खेल खेल्दा ४ अर्धशतक प्रहार गरे। उनले गण्डकीविरूद्ध नटआउट १८ रन, कर्णालीविरूद्ध ०, सूदूपश्चिमविरूद्ध ९२ रन, बागमतीविरूद्ध ६७ रन, प्रदेश १ विरूद्ध २५ रन, प्रदेश २ विरूद्ध नटआउट ६२ रन र फाइनलमा सुदूपश्चिमविरूद्ध ७० रन जोडेका थिए। प्रतियोगितामा सर्वाधिक रन जोड्ने ब्याट्सम्यान बन्ने क्रममा उनले कूल ३३४ रन बनाए।
नेपाली क्रिकेटको आशा गरिएका ब्याट्सम्यानको रूपमा हेरिएका देव नेपाल आएको भने चार वर्ष मात्र भयो। त्यसअघि उनी परिवारसँगै भारतको नयाँ दिल्लीमा बस्थे। दिल्लीको क्रिकेट वातावरणमा हुर्किएका उनले १३ वर्षको उमेरदेखि एकेडेमीमा गएर क्रिकेट सिक्न थालेका थिए।
नयाँ दिल्लीको आरपी क्रिकेट एकेडेमीमा देव उत्कृष्ट खेलाडी खेलाडीको रूपमा रहँदै एकेडेमीको टिममा समेत परेका थिए। जसका कारण उनले एकेडेमीको टिमबाट उमेर समूहका प्रतियोगितामा खेल्न सफल भए।
एकेडेमीमा रणजी ट्रफी खेल्ने खेलाडी पनि आउने भएकाले आफ्नो क्रिकेटस्तर बढेको देवको भनाइ छ। कहिलेकाहि भारतको राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान रिशव पन्त पनि उनकै एकेडेमीमा आएर अभ्यास गर्थे।
भारतमा क्रिकेटको क्रिकेट वातावरणमा हुर्किएका देव सन् २०१७ मा नेपाल फर्किए। उनको परिवार बुटवलमा घर बनाएर स्थायी रूपमा बस्न थालेपछि देव त्यहाँ स्थानीय प्रतियोगिता खेल्न थाले।
दिल्लीमा बसे पनि उनलाई नेपाली क्रिकेटबारे भने थाहा थियो। समाचारमार्फत नेपाली क्रिकेट पछ्याउथे, आफ्ना आदर्श पारस खड्काको खेल हेर्थे। सन् २०१४ मा नेपालले टी-२० विश्वकप खेल्दा उनले नेपाली क्रिकेटबारे अझ धेरै जान्ने अवसर पाए।
बुटवलबाट क्रिकेट भविष्य खोजिरहेका देवले गत वर्ष प्रधानमन्त्री कपको छनोटमा प्रशिक्षकको ध्यान खिच्न सफल भए। जसका कारण लुम्बिनीले उनलाई सिनियर टिममा समावेश गर्यो।
प्रधानमन्त्री कपमा उनले आकर्षक सर्ट खेल्दै सबैको मन जिते। प्रधानमन्त्री कपमा उनले बागमतीविरूद्ध २६ रन, सूदूपश्चिमविरूद्ध ९ रन र नेपाल पुलिस क्लबविरूद्ध ४९ रन जोडेका थिए।
प्रधानमन्त्री कपमा गरेको प्रदर्शनले उनी राष्ट्रियस्तरमा चिनिन सफल भए। प्रधानमन्त्री कपकै प्रदर्शनले उनलाई एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम चितवन टाइगर्सले आबद्ध गर्यो। चितवनमा आबद्ध हुनुलाई उनले अवसरको रूपमा लिएका थिए।
'पिएम कपमा खेल देखाएपछि चितवनले मलाई आबद्ध गर्यो। टिममा देश र विदेशका अनुवभी खेलाडी थिए। त्यसैले मैले इपिएललाई एउटा सिक्ने अवसरको रूपमा लिएको थिए,' देवले भने।
इपिएलमा उनले भैरहवा ग्लाडिएर्टसविरूद्ध मात्र खेल्न पाए। सो खेलमा उनले ५ रन मात्र जोड्न सफल भए। अरू खेलमा मौका नपाए पनि उनी च्याम्पियन टिमको सदस्य बने। सिजनको इपिएलमा चितवनले पोखरा राइनोजलाई हराउँदै उपाधि जितेको थियो।
एक वर्षको बीचमा दुई वटा राष्ट्रियस्तरको प्रतियोगितामा मौका पाएका देवलाई लुम्बिनीले यसपटक यू-१९ टिमको कप्तानी बनाउने निर्णय गर्यो। प्रशिक्षक बसन्त शाहीले जब कप्तानी सुम्पिए उनलाई सपना जस्तै लाग्यो।
'मलाई कप्तानी दिइन्छ भन्ने कहिल्यै सोचेको थिइन। प्रशिक्षक बसन्त शाहीले यू-१९ टिमको सिनियर खेलाडी भइसकिस्, पिएम कप र इपिएल खेलिसकिस् भन्दै कप्तानको जिम्मेवारी दिएको भन्दा धेरै नै खुसी लागेको थियो,' उनले भने।
प्रशिक्षकको विश्वासलाई देवले सही साबित गर्दै लुम्बिनीलाई च्याम्पियन बनाए। साथै व्यक्तिगत प्रदर्शन पनि उच्च राख्न सफल भए।
'यू-१९ राष्ट्रिय प्रतियोगितामा टिमका लागि प्रदर्शन गर्छु भन्ने आत्मविश्वास थियो। त्यहीँ तयारीका साथ आएको थिए। कन्डिसन हेरेर टिमका लागि खेलेपछि आफ्नो प्रदर्शन पनि राम्रै भयो,' उनले भने।
यू-१९ टिमको बन्द प्रशिक्षणको टिममा रहेका २० जना खेलाडीबाट उत्कृष्ट हुँदै युवा राष्ट्रिय टिममा पर्ने अब उनको लक्ष्य छ।
'टिममा प्रतिस्पर्धा ठूलै छ। सबैले राम्रो प्रदर्शनमा गरेकाले टिममा परेका हुन्। मेरो लक्ष्य भनेको आफ्नो स्तर बृद्धि गर्दै जाने हो, नेपालका लागि राम्रो खेल्दै जिताउने हो। अब टिममा पर्ने नपर्ने कुरालाई कहिलेकाहीँ भाग्यले पनि साथ दिनुपर्छ,' उनले भने।
हाल नेपाली यू-१९ टिममा कप्तानको जिम्मेवारी कसैलाई दिइसकेको छैन। नयाँ पुस्ताको युवा टिमले सायद अर्को साता नयाँ कप्तान पाउनेछ। यसका लागि देव पनि उपयुक्त पात्र हुन सक्छन्। किनभने उनको कप्तानीमा हालै लुम्बिनी राष्ट्रिय च्याम्पियन बनेको छ।
कप्तानको जिम्मेवारी आए देव तयार पनि छन्। भन्छन्, 'यू-१९ टिमको कप्तानी दिइन्छ भने त्यो मेरा लागि एउटा ठूलो अवसर हुनेछ। यदि अवसर पाए भने नेपाललाई माथिल्लो स्तरमा पुर्याउन र खेल जिताउन सधैं प्रयास गर्नेछु।'