नेपाल क्रिकेट संघ (क्यान) लाई अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको अन्तिम टुंगो लगाउन सकस परिरहेको छ।
आवेदन दिएका ६० जना मध्ये ५ जनासँग अन्तर्वार्ता लिएको क्यानको रोजाइमा दुई जना प्रशिक्षक छन्।
भारतका मोन्टी देसाई पहिलो रोजाइमा रहेको क्यान स्रोतको भनाइ छ। तर उनका शर्तमा भने क्यान पूर्णरूपमा सहमत छैन।
देसाईले मासिक १५ लाख रुपैयाँ तलब माग गरेका छन् भने इन्डियन प्रिमियर लिग (आइपिएल) को बेला बिदा दिनु पर्ने शर्त राखेका छन्।
देसाई हाल वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक छन्। १२ वर्षको प्रशिक्षण करिअरमा देसाईले अफगानिस्तान, युएई र क्यानडाको प्रशिक्षक भएर काम गरिसकेका छन्। यस्तै उनी आइपिएल टिम राजस्थान रोयल्स र गुजरात लायन्सको प्रशिक्षण टिममा थिए।
देसाई सन् २०१७ मा नेपाल आएका थिए। उनले एसिसी यू-१९ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालको यू-१९ टिमको कन्सल्ट्यान्ट प्रशिक्षक भएर काम गरेका थिए।
नेपाली खेलाडीका लागि भारतमा एक्सपोजर हुन सक्ने र टेस्ट टिमको ब्याटिङ प्रशिक्षक भइसकेका कारणले देसाई नेपालको प्रशिक्षक हुन उपयुक्त भएको क्यान पदाधिकारीको विश्लेषण छ।
दोस्रो रोजाइमा रहेका पुबुदु दासानायकेले भने तलबको माग गरेका छैनन्। यसअघि राजीनामा दिएका प्रशिक्षक डेभ वाटमोरको १० हजार अमेरिकी डलरको आसपासमा तलब थियो। यो भन्दा कम रकममा पुबुदुलाई मनाउन सकिने क्यानको निष्कर्ष छ।
एक पदाधिकारीले पुबुदु नेपालको प्रशिक्षक लगभग पक्का जस्तै भएको बताए। यदि पुबुदुलाई नियुक्त गरिए उनी दोस्रो पटक नेपालको प्रशिक्षक बन्नेछन्।
५१ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए।
सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवा न्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए। यद्यपी उनी आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबिया भएको सिरिज र एमसिसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए।
पुबुदुको नेतृत्वामा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो।
नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए।
उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएर्टसका प्रशिक्षक नियुक्त भएका थिए। जसका कारण उनी तीन वर्षको बीचमा दुई पटक नेपाल आइसकेका छन्। पछिल्लो पटक पुबुदु गत सेप्टेम्बरमा नेपाल आएका थिए।
सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त हुनुअघि पुबुदु क्यानडाका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा क्यानडाले सन् २०११ को एकदिवसीय विश्वकप खेलेको थियो।
श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी पुबुदु क्यानडाका नागरिक हुन्। पुबुदुले सन् १९९३ देखि १९९४ सम्म श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका थिए। ११ टेस्ट र १६ एकदिवसिय खेल खेलेका विकेटकिपर ब्याट्सम्यान पुबुबुले सन् २००५ देखि २००६ सम्म क्याडनाबाट समेत खेलेका थिए।